बागमती

साथीको लयमा लागेर कुलतमा फस्ने युवाको जमात

सुसन लामिछाने |
जेठ २५, २०७८ मगलवार ७:१४ बजे

फाइल फोटो

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का राजन तामाङ (नाम परिवर्तन) लागूऔषध प्रयोग गर्छन । उनी दुई वर्षदेखि लागूऔषध सेवन गर्दै आएका छन् । चुरोट, रक्सी हुँदै उनी अहिले लागूऔषध कोरेक्स र मिलेसम्म सुई पनि लगाउने गर्छन । उनको पारिवारमा आमा र २ जना छोराछोरी छ । ३५ वर्षका राजन श्रीमतीसँग सम्बन्ध विच्छेद भएसँगै कुलतमा फसे । पहिले रक्सी पिउँने र जुवातास मात्र खेल्थे । पछि लागूऔषध प्रयोगकर्ता साथीको सम्पर्कमा उनी पुगे । अहिले उनी लागूऔषध गाँजा, चरेश, कोरेक्सको प्रयोगबिना बस्न सक्दैनन् ।  

लागूऔषध प्रयोग गरेपछि छुट्टै संसारमा उनले आफुलाई पाउँने गरेको बताए । उनी आफु काम पनि गर्दैनन् तर आमालाई लागूऔषध किन्न पैसा दिन बाध्य पार्छन । राजन जस्तै वडामा लागूऔषध प्रयोगकर्ता कति छन, यकिन तथ्यांक वडासँग छैन । 


यद्यपी, हेटौंडा-९ मा लागूऔषध प्रयोगकर्ताहरु धेरै रहेको हुनसक्ने वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले बताएका छन् । उनले वडाबाट लागूऔषधसहित युवाहरु पक्राउ परेको, खुल्ला सिमाका कारण वडामा धेरै प्रयोगकर्ता आउने गरेको बताए । वडामा सरसफाइ गर्दा प्रयोग गरेका सुई सिरिन्ज, अन्य लागूऔषको बोत्तल र औषधिका पत्ताहरु भेटिएको जानकारी दिए । आफ्नो वडामा युवा तथा बालबालिकालाई लागूऔषधको प्रयोगबाट टाढा राख्न वडाले योजना बनाउन आवश्यक देखिएको उनको भनाई छ ।

हेटौंडा-९ नम्बर वडाले यो वर्ष लागूऔषध दर्व्यसनसम्बन्धी हालै एक सर्वेक्षण पनि सम्पन्न गरेको छ । चार जना विज्ञको टोलिले वडाका ३९ जना लागूऔषध प्रयोगकर्तासँग ३६ दिन लगाएर ११३ पन्ने प्रतिवेदन तयार पारेको छ । वडाले आफ्नो वडाभित्र रहेको सिआन पुर्नस्थापना केन्द्रको सहयोगमा लागूऔषध दुर्बेशन सम्बन्धी सर्वेक्षण गरेको हो । शैक्षिक योग्यता, जाती, पारिवारीक अवस्था, उमेर समूह, पेशा लगायतको आधारमा उनीहरुको अध्ययन गरिएको थियो । 

अध्ययनले लागूऔषध प्रयोगकर्ताहरु ६९ प्रतिशत साथीकै माध्यमबाट कुलतमा फसेको, १८ प्रतिशतले साथी र रहरले, ८ प्रतिशतले आफूखुसी र तीन प्रतिशत श्रीमतीका कारण तथा दुई प्रतिशत दाजुभाईका कारण दुर्व्यसनीमा फसेको देखिएको सिआन पुनस्र्थापना केन्द्र मकवानपुरका संयोजक सौजन डिसीले जानकारी दिए । उनका अनुसार पुर्नस्थापना केन्द्रमा बस्ने बाहेकका वडाका अन्य ३९ जना लागूऔषध प्रयोगकर्तासँग सो अध्ययन गरिएको हो । 

यो अध्ययनले लागूऔषध दुर्व्यसन सम्बन्धी आगामी योजना बनाउन वडालाई सहज हुने वडाअध्यक्ष भण्डारीले जानकारी दिए । वडामा युवाहरु फस्ने कारण तथा लागूऔषध प्रयोगकर्ताको अवस्था अध्ययनले देखाएको भन्दै उनले लागूऔषध दुर्बेशन सम्बन्धमा आवश्यक कार्यक्रम आगामी वर्षको नीति कार्यक्रम र बजेटमा समावेश गरिने बताएका छन् ।
 


Author

थप समाचार
x