स्थायी केन्द्र सबैको माझ तोक्न दबाब दिँदै सुनकोसी गाउँपालिकामा लगाए ताला
काठमाडौँ - सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको कार्यालयमा स्थानीयहरूले ताला लगाएका छन् । पालिकाको स्थायी केन्द्र तोकेको विषयमा स्थानीयहरूलाई चित नबुझेपछि कार्यालयमा ताला लगाइएको हो ।
सुनकोसी गाउँपालिका स्थायी केन्द्र, भवन संघर्ष समितिले मंगलबार कार्यालय खुलेसँगै ताला लगाएका हुन् । उनीहरूले गाउँपालिकाको स्थायी केन्द्र तोकेको विषयमा चित नबुझेपछि ताला लगाएको समितिका सल्लाहकार थुप्तेन ग्याल्बो लामाले जानकारी दिए । कार्यपालिकाको गत माघ २९ गते बसेको बैठकले सिगालेमा स्थायी केन्द्र बनाउने निर्णय गरेको थियो । १५ जना कार्यपालिका सदस्यमा ११ जनाले सहमति जनाएका थिए ।
'गाउँ कार्यपालिकाले सुनकोसी-३ सिगालेमा स्थायी केन्द्र बनाउने निर्णय गरेको छ', उनले भने, 'त्यो सुनकोसीका सबै जनतालाई पायक पर्दैन स्थानीय सरकार भनेको जनताको घर दैलोमै हुनुपर्छ भन्ने हो ।'
संघर्ष समितिले सुनकोसी-५ सुनखानी डाँडामा स्थायी केन्द्र बनाउन आग्रहसमेत गरेको छ । लामाले भने, 'सिगाले भन्दा सुनखानी डाँडा सबैका लागि पायक पर्छ ।' संघर्ष समितिले संघीयताको मर्म र भावनालाई कुल्ची गाउँ कार्यपालिकाले गरेको निर्णयप्रति आपत्तिसमेत जनाएको छ ।
स्थानीय निर्वाचन भएको ७ वर्ष बितिसक्दा पनि सुनकोसीले स्थायी केन्द्र तोकेर प्रशासकीय भवन निर्माण गर्न सकेको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया