बागमती

बाग्मती प्रदेशको नीति तथा कार्यक्रम अपुरो : सांसद छिरिङ दोर्जे

कोभिड खोप पनि निःशुल्क छैन, पछि सशुल्क बनाउने हो कि ?

इकागज |
जेठ २८, २०७८ शुक्रवार ९:३१ बजे

फाइल फोटो

हेटौंडाः बागमती प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमलाई निरन्तरता दिएर आएको विपक्षी सांसदहरुले बताएका छन् । सरकारले आगामी वर्षमा कोभिड–१९ सम्बन्धी खोपको व्यवस्था गर्न प्रदेश प्रमुख कोभिड–१९ कोष स्थापना गर्ने बताएको छ । कोभिड परीक्षण निशुल्क गर्ने व्यवस्था गर्ने भनेर भनिएपनि निशुल्क खोप लगाउने बारे स्पष्ट नभनेको कांग्रेस सांसद छिरिङ दोर्जे लामाले बताए । उनले सरकारले निःशुल्क खोप नभन्दा पछि सशुल्क पो हुने हो की भनेर आशंका व्यक्त गरेका छन् । 

आगामी वर्षको नीति तथा कार्यक्रम नारा नै नाराले भरिभराउ भएर आएको उनले बताए । उनले यो नीतिले काठमाडौं उपत्यकाको संरचना र बासिन्दालाई नछोएको बताए । मानव पुँजी विकास गर्ने नीति तथा कार्यक्रम ल्याए पनि कहाँ परिचालन गर्ने स्पष्ट नभएकोले अपुरो ढंगबाट नीति तथा कार्यक्रम आएको उनको भनाई छ । उनले चालू वर्षको नीति कार्यक्रम भन्दा फरक कार्यक्रम ल्याउन सरकारले नसकेको बताए । 


विवेकशील साझाका सांसद रमेश पौडेलले आगामी नीतिले कोभिडको खोप मामिलामा अपेक्षा अनुसारको कार्यक्रम  नआएको बताए । पहिलेकै कार्यक्रमलाई निरन्तरता दिएर आगामी नीति तथा कार्यक्रम ल्याइएको उनको भनाई छ । ‘कोभिडले असर गरेको पर्यटन व्यवसाय, रोजगारी गुमेका र भुईमान्छेलाई सम्बोधन गर्न सक्ने नीति तथा कार्यक्रम नआएको उनले स्पष्ट गरे ।
 
उनले नीति तथा कार्यक्रम संसोधनको समय ४८ घण्टाबाट १२ घण्टा पु¥याएकोमा आपत्ति जनाएका छन् । उनले यो गलत भएको भन्दै यसले विधि र प्रणालीलाई नै कमजोर बनाउने बताए । अध्यययन गरेर संशोधन गर्न सो समय राखिएको भन्दै कुनै विकल्प नै नभएको अवस्थामा सरकारले समय घटाउनु उचित हुने उनको भनाई छ  । सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने भएको कारण संशोधन गर्ने समय घटाएको हो । 

प्रमुख विपक्षी दल नेकपा माओवादीले दिएको सुझावलाई प्रदेश सरकारले केही मात्र सम्बोधन गरेको छ । काभिड विरुद्ध खोपको व्यस्थापन, धादिङको रुबी भ्याली एकीकृत विकास लगायतको सुझावहरु नीति कार्यक्रममा समावेश गरेको छ । तर सुरुङमार्गलाई निरन्तरता नदिन दिएको सुझाव भने प्रदेश सरकारले निरन्तरता दिएको छ ।

माओवादी संसदीय दलको नेता शालिकराम जम्कट्टेलले आगामी नीति तथा कार्यक्रम व्यवस्थित नआएको बताएका छन् । नीति तथा कार्यक्रम माथि शुक्रबार बिहान बस्ने प्रदेशसभा बैठकमा छलफल हुनेछ । 
 


Author

थप समाचार
x