बागमती

बागमती प्रदेशले आज कस्तो बजेट प्रस्तुत गर्ला ?

इकागज |
असार १, २०७८ मंगलबार ६:५१ बजे

हेटौंडाः बागमती प्रदेशले दिउँसो ३ बजे प्रदेश सभामा बजेट प्रस्तुत गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्ष ०७८/७९ को वार्षिक बजेट प्रस्तुत गर्नेछन् । चालू वर्षको भन्दा बजेट केही बढाएर ल्याएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । 

चालू वर्षमा प्रदेश सरकारले ५१ अर्बको बजेट प्रस्तुत गरेकोमा आगामी वर्ष ५४ अर्बको हाराहारीमा बजेट प्रस्तुत गर्ने आर्थिक मन्त्रालयको तयारी छ । आगामी वर्षको लागि संघीय सरकारले बागमती प्रदेशलाई १४ अर्ब ७२ करोड ६८ लाख बजेट विनियोजन गरेको छ । 


जेठ २९ गते बसेको प्रदेश सभाको बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पास गरेको थियो । बागमती प्रदेश सभामा विपक्षी दलहरुले हावादारी नीति तथा कार्यक्रम ल्याएको भनि चर्का आलोचना गरेपनि बहुमतले नीति तथा कार्यक्रम पास भयो । विपक्षी दलका सांसदहरुले संशोधनको प्रस्ताव दर्ता गराएपनि बहुमतले अस्वीकृत गरिदियो । तरपनि सांसदहरुले सरकारले ल्याउने बजेट जनमुखि बनाउन सुझाव दिए । सरकारले आज प्रस्तुत गर्ने बजेटमा विपक्षी तथा सत्तारुढ दलकै सांसदहरुको सुझाव पेश भएर आउँछ की आउँदैन अन्यौल छ । 

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेश अन्तर्गतको सबै अस्पताल र कोभिड केन्द्रित भएर बजेट विनियोजन भएको जानकारी दिए । उनले स्वास्थ्य शिक्षा, कृषि, रोजगारी लक्षित नै बजेट आउने बताएका छन् ।

चालू वर्षको बजेट पास गर्न बागमती प्रदेश सरकारलाई बहुमत भएपनि गत वर्षपनि निकै कठिन भएको थियो । बजेट पास गराउन विगतमा सांसदहरुलाई एक करोडको योजना बाँडिएको नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा प्रतिपक्ष दलका नेता शालिकराम जम्कट्टेलले सार्वजनिक गरेका थिए । यो वर्षमा सांसदहरुलाई खुशि पार्न उनीहरुको क्षेत्रमा कति करोडको योजना बाँडियो समय आएपछि सार्वजनिक होला नै ? 

माओवादी संसदीय दलले आउँदो बजेटमा धादिङको रुबी भ्याली एकीकृत योजना, सुरुङमार्ग योजना अघि नबढाउन, विद्युती बस खरिद नगर्न, प्रदेशबासीलाई खोपको व्यवस्थापन गर्न लागयतको ९ पन्ने सुझाव मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको थियो । दलका नेता जम्कट्टेलले सोही सुझावलाई बजेटमा समावेश गर्न पनि आग्रह गरेका थिए । 

चालू वर्षमा बजेट निर्माण गर्न सरकारलाई सुझाव दिन एमाले बागमती प्रदेश संसदीय दलका नौ सदस्यीय सुझाव समिति निर्माण भयो । सांसद राजेन्द्र पाण्डेको संयोजकत्वमा रहेको उक्त समितिले सरकारलाई केही सुझाव दिएको छ । तर त्यो बजेटमा आउँछ आउँदैन हेर्न बाँकी छ । सांसद राजेन्द्र पाण्डेले सरकारलाई सुरुङमार्ग निर्माण कार्य अघि नबढाउन र विद्युतीय बस खरिद नगर्न नीति तथा कार्यक्रम माथिको छलफलमै सुझाव दिइसकेका छन् । 

आगामी वर्षको नीति तथा कार्यक्रम पास गर्न माधव नेपाल पक्षले डोरमिण पौडेललाई साथ दिएको छ । माधव पक्षका सांसदको साथ दिँदा आगामी नीति तथा कार्यक्रम सांसदहरुको असन्तृष्टीकै बिच पास भयो । नेतृ अष्टलक्ष्मी शाक्यले यसलाई एकताको नयाँ परीक्षण भएको बताएकी छिन् । माधव नेपाल पक्षको सांसदहरुको साथ पाए लगत्तै आगामी बजेट पनि सरकारले सजिलै पास गर्ने देखिएको छ । 


Author

थप समाचार
x