बागमती

टोलटोलमा सरकार भेटिने बनाउन टोलहरूलाई सक्रिय बनाउँदै वडा नं. १५

इकागज |
बैशाख २९, २०८१ शनिबार २१:२८ बजे

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको वडा नं. १५ स्वयम्भूले, वडामा रहेको सरकारलाई टोलमा प्राप्त गर्न सकिने बनाउन कार्यक्रम थालेको छ । स्थानीय आवश्यकता पूरा गराउन समाज स्तरमै सम्पादन गर्न सकिने काममा टोलबासीको सक्रियता बढाएर नागरिकको आँगनमा सरकार पुर्याउने वडाको योजना हो । 

योजनाको पहिलो चरणमा संघसंस्थाका प्रतिनिधि र सामाजिक अगुवाहरूका लागि अभिमुखीकरण थालेको छ । यस क्रममा संघसंस्थाका प्रतिनिधि र सामाजिक अगुवाहरूलाई वडाबाट संकलन गरिने राजस्व, प्रवाह हुने सेवाका कानुनी तथा प्रशासनिक पक्षमा जानकारी दिइएको हो ।


स्थानीय विकासका लागि योजना, बजेट तथा कार्यक्रम माग गर्ने, माग गरिएको कार्यक्रम गर्ने प्रक्रिया, स्वीकृत कार्यक्रम कार्यान्वयनका चरण, कार्य सम्पन्न हुने चरण, यसपछि भुक्तानीको प्रक्रियासँग सम्बन्धित कानुनी व्यवस्था र प्रशासनिक प्रक्रियाका बारेमा जानकारी गराइएको छ । संस्थासँग सम्बन्धित कागजात, कामसँग सम्बन्धित कागजातसँगै सम्पन्न कामको दिगो उपयोगका विषयमा कार्यक्रममा समेटिएका थिए । 

जनगणना ५२ हजार ६६८ जना जनसंख्या रहेको वडामा १४ हजार ८१ परिवार संख्या छ । औसत परिवार संख्या ३.४७ हो । 

कार्यक्रममा वडाध्यक्ष ईश्वरमान डंगोलले भने, ‘वडा र टोलको सम्बन्ध छुट्याएर हेर्न सकिँदैन । यसकारण हामी वडामा आएको सरकारलाई टोलमा अनुभूत गराउने कार्यमा लागेका छौँ । जनताले चाहेका धेरै कामहरू टोलकै सक्रियता सम्पन्न गर्न सकिन्छ । यसका लागि वडामा पनि पुग्नु पर्दैन ।’ यसका लागि टोललाई जिम्मेवार हुने संयन्त्र निर्माण गर्न सकिने उनले बताए । 

कार्यक्रममा सामाजिक सुरक्षा र घटना दर्ताका विषयमा प्रस्तुतीकरण गर्दै महानगरपालिकाको प्रशासन विभागका प्रमुख दीपक अधिकारीले, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षामा आबद्धता र नवीकरणमा नागरिक आफैं सचेत हुने हो भने प्रशासनिक तथा व्यवस्थापकीय खर्च स्वतः कम हुने बताए । सामाजिक सुरक्षाका लागि अहिले उमेरलाई आधार मानिएको छ ।

उनले उमेरमा आधारित सामाजिक सुरक्षाका सूचक गरिबी परिचय पत्र वितरणपछि यसैमा आबद्ध हुन सक्ने सम्भावना देखाए ।


Author

थप समाचार
x