बागमती

बागमती प्रदेशको संसदीय समिति सभापतिको निर्वाचन शनिबार हुने

इकागज |
जेठ ३, २०८१ बिहीबार १७:२८ बजे

हेटौंडा- बागमती प्रदेशसभा सचिवालयले संसदीय समितिको सभापति निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

सभामुख भुवनकुमार पाठकको निर्देशनमा सचिवालयले बिहीबार एक सूचना प्रकाशित गर्दै प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।


प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को अनुसूची– ३ बमोजिम, सम्बन्धित समितिको सभापतिमा उम्मेदवार बन्न सोही समितिका एक सदस्यको समर्थनमा प्रस्ताव दर्ता गर्नुपर्नेछ ।  

निर्वाचन कार्यतालिका अनुसार सभापति पदका लागि मनोनयन दर्ता शुक्रबार दिउँसो सुरु हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार साँझ हुनेछ । मतदान भने जेठ ५ गते शनिबार हुनेछ ।

सम्बन्धित समिति सचिवालयले मतदानका लागि फरक फरक समय निर्धारण गरेका छन् । प्रदेश मामिला समिति सभापति र सार्वजनिक लेखा समिति सभापतिको मतदान शनिबार दिउँसो २ बजेदेखि, अर्थ तथा विकास समिति सभापतिको मतदान दिउँसो साढे १२ बजेदेखि, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति र उद्योग, पर्यटन तथा वातावरण समिति सभापतिको मतदान शनिबार अपराह्न दिउँसो ३: ३० बजेदेखि सुरु हुनेछ ।

निर्वाचित समितिका सभापतिहरूको शपथ ग्रहण भने जेठ ६ गते बिहान साढे १० बजे हुने प्रदेशसभा सचिवालयको कार्य तालिकामा उल्लेख छ ।


Author

थप समाचार
x