बागमती

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो

इकागज |
जेठ १०, २०८१ बिहीबार १०:४३ बजे

चितवन- अण्डाको मूल्य बढेपछि उत्साहित  कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निराश भएका छन् । उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ ।
 
नेपाल भेटेनरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष डा. दीपक तिवारी यो समयमा कुखुराले दानापानी कम खाने र कमजोर हुने हुँदा रोगको जोखिम हुने बताउँछन् ।

गर्मीमा २० देखि २५ प्रतिशत उत्पादनमा ह्रास आउने गर्दछ । गर्मीसँगै एच नाइन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ । दिउँसो कुखुरालाई दाना नखुवाउन सुझाव दिँदै उनले उत्पादन घटेकाले किसानको लागत मूल्य बढेको जानकारी दिए ।
 
पोल्ट्री क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका विज्ञ डा. तिलचन्द्र भट्टराई उत्पादन घटेसँगै लागत मूल्य बढ्दा किसान र व्यवसायी प्रभावित भएको बताउँछन् । हाल एउटा अण्डा तयार गर्न रु १६ हाराहारी खर्च हुने गरेको छ । यसअघि अण्डाको लागत मूल्य रु १४.५ थियो । 
 
नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेल चर्को गर्मी र रोगका कारण अण्डा उत्पादनमा कमी आएको बताउँछन् । दैनिक ५० देखि ६० लाख अण्डा उत्पादन हुँदै आएकोमा आधा घटेको उनी बताउँछन् ।
 
पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष रघुनाथ भट्ट  किसानले लागत मूल्य पाउन नसकेका भन्दै अन्य वस्तुको तुलनामा अण्डाको मूल्य कम रहेको बताउँछन् । उनले भने, 'धेरै किसान विस्थापित भए, अब पनि लागत मूल्य नपाए व्यवसाय ध्वस्त हुन्छ ।'
 
मञ्चका पूर्वअध्यक्ष राजेन्द्र लामिछाने पोल्ट्री व्यवसाय संवेदनशील भएकाले राज्यले यसलाई विशेष ध्यान दिनुपर्ने बताए । रासस



Author

थप समाचार
x