बागमती

बजेट ल्याउनुअघि ललितपुरका सांसदहरूसँग छलफल

इकागज |
जेठ २८, २०८१ सोमबार १५:५७ बजे

ललितपुर - ललितपुर महानगरले आगामी आर्थिक वर्षको  नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि ललितपुर जिल्लाका सांसदहरूसँग छलफल गरेको छ । 

ललितपुरलाई सुन्दर र बस्न योग्य सहर बनाउनका लागि गर्नुपर्ने कामका बारेमा सुझाव लिनका लागि महानगरले छलफल कार्यक्रम आयोजना गरेको हो । 


महानगर प्रमुख चिरीबाबु महर्जनले जनप्रतिनिधि र कर्मचारी विज्ञ नहुने भएकाले विज्ञहरूसँग महानगरको आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम बनाउनु अघि सल्लाहकार र सांसदसँग छलफल गरेको बताए । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले ललितपुरको बजेट र नीति तथा कार्यक्रम उत्कृष्ट बनाउन सबै क्षेत्रका विज्ञ र सांसदसँग छलफल गरेको बताइन् । बजेट, नीति तथा कार्यक्रमलाई सहभागितामूलक र तथ्यपरक बनाउनका लागि महानगरवासीबाट पनि सुझाव संकलन गरेको उनले जानकारी गराइन् । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महानगरको बजेट, नीति र कार्यक्रम निर्माणका लागि प्राप्त भएका सुझाव यथार्थपरक हुने बताइन् । प्राप्त सुझावलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्ने बताइन् । 

महानगरका महानगरले अघिल्लो वर्ष पनि ललितपुरका सासंदहरूसँग छलफल गरेको थियो । कार्यक्रममा ललितपुर जिल्लाका सासंदहरूले ललितपुर महानगरले बजेट र नीति निर्माण गर्दा महानगरवासीको दिनचर्या र जीवन सजिलो हुने विषयमा केन्द्रित हुन जोड दिएका छन् । 

सोमबार महानगरमा आयोजित आर्थिक वर्ष २०८१/२०८२ को नीति तथा कार्यक्रम  सम्बन्धमा ललितपुरका सासंदसँगको अन्तरक्रिया कार्यक्रममा ललितपुर क्षेत्र नं.१ का संघीय सांसद उदय शमशेर राणाले मध्यम स्तरका व्यापारीलाई व्यापार व्यवसाय गर्न सहज हुने वातावरण निर्माण गर्ने तर्फ महानगरको आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम केन्द्रित हुनुपर्ने बताए ।

उनले भने, ‘ काम पाइएन भन्दै युवा पुस्ता विदेशिएको छ, त्यसलाई रोक्न विशेष कार्यक्रम ल्याउनुपर्यो । ’ अर्थतन्त्रलाई चलायमान बनाउन पूँजीगत खर्च वृद्धि हुनुपर्ने उनले बताए ।  फोहोर व्यवस्थापन कथाजस्तै भएको बताउँदै उनले भने,‘उपत्यकाभित्रका १८ वटा पालिका र संघीय सरकारसँग सहकार्य गरोस् महानगरले । ’ पार्किङ नहुँदा धेरै समस्या भइरहेको बताउँदै महानगरले बहुतल्ले पार्किङ निर्माण गर्नुपर्ने बताए । यसो गर्दा राजश्व संकलन समेत वृद्धि हुने धारणा उनले राखे ।

ललितपुर क्षेत्र नं.२ का संघीय सांसद प्रेम महर्जनले वातावरण संरक्षणसँगसँगै मानव स्वास्थ्यका लागि साइकल महत्वपूर्ण भएको बताउँदै साइकलको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए । महानगरले मोबाइल अस्पतालको अवधारणालाई अबको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धि गर्न सामुदायिक विद्यालय सुधार कार्यक्रमलाई आगामी वर्ष  बजेट र नीति तथा कार्यक्रममा समेट्नुपर्ने धारणा राखे । 

ललितपुर क्षेत्र नं.३ का संघीय सांसद तोसिमा कार्कीले ललितपुर महानगरले खानेपानीको व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर आगामी बजेट निर्माण गर्नुपर्ने धारणा राखिन् । चोक चोकमा वाटर एटिएमको व्यवस्था गर्ने कार्यक्रम ल्याउन अनुरोध गरिन् । वडा नं.४ , वडा नं २४ मा भएका खुल्ला ढलले संक्रमण बढाउने र महामारीको रुप लिने अवस्था सिर्जना भएको बताउँदै यस तर्फ महानगरको ध्यान केन्द्रित हुनुपर्ने भनाई उनको थियो ।

सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढ्दै गएको बताउँदै उनले वडालाई नै वडाभित्र भएको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले निर्देशन पर्ने धारणा राखिन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका संघीय सांसद रोशन कार्कीले  सार्वजनिक जग्गा संरक्षणको कार्यक्रमलाई प्राथमिकताका साथ लागू गर्नुपर्ने धारणा राखिन् । खानेपानीको व्यवस्थापन, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि महानगरले विशेष योजना अघि सार्नुपर्ने बताइन् । विषादीयुक्त तरकारीले मानव स्वास्थ्य जोखिममा पार्दै गएको बताउँदै विषादीरहित तरकारीकालागि हाट बजारको व्यवस्था गर्नुपर्ने उनको धारणा थियो । 

बागमती प्रदेशका पूर्व मन्त्री तथा ललितपुर क्षेत्र नंं.२ क का प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले सम्पदा संरक्षण र हरियाली प्रबर्द्धनमा महानगरले महत्वपूर्ण काम गरेको टिप्पणी गरे । पूर्वाधार निर्माणमा महानगरको लगानी पर्याप्त भएको बताउँदै भने, ‘ ती संरचना प्रयोग गर्ने जनशक्ति निर्माणका लागि पनि महानगरले लगानी गर्नुपर्छ । ’ बेरोजगारी विकराल समस्याको रुपमा देखापर्दै गएको बताउँदै उनले महानगरबासीको आय वृद्धि हुने विषयमा केन्द्रित भएर अबको आर्थिक वर्षको नीति,कार्यक्रम तथा बजेट आउनुपर्ने धारणा राखे । महानगरवासीको दिनचर्या अव्यवस्थित सार्वजनिक यातायातका  प्रभावित भएको बताउँदै भने, ‘महानगरले यस विषयमा जतिसक्दो चाडो ध्यान दिनुपर्छ । ’

ललितपुर क्षेत्र नंं.३ क का सांसद रघुनाथ महर्जन महानगर नागरिकको नजिकको सरकार भएको बताउँदै महानगरबासीको दिनचर्या सजिलो बनाउने विषयमा केन्द्रित भएर बजेट तथा नीति कार्यक्रम ल्याउनुपर्ने बताए । उनले भने, ‘खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका विषयमा केन्द्रित हुनुपर्छ  । ’ ललितपुर महानगरले महानगरभित्रको पानीको समस्या समाधान गर्न मेलम्चीमा आश्रित हुन नहुने धारणा राखे । 

ललितपुर क्षेत्र नं.३ ख का प्रेम भक्त महर्जन महानगरवासीको दिनचर्या र जनजीवन सजिलो हुने विषयमा केन्द्रित भएर बजेट, नीति तथा कार्यक्रम ल्याउन उनले महानगरलाई सुझाव दिए । संघीय र प्रदेश सांसदले स्थानीय तहलाई काम गर्न सहज बनाउनका लागि नीतिगत विषयमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


Author

थप समाचार
x