बागमती

कालो बादल मडारिन थालेपछि ...

इकागज |
असार ५, २०७८ शनिबार १५:५६ बजे

हेलम्बु : हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ पर्‍यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ्न थाल्छ अनि ढुङ्गाको आवाज आउन थाल्छ । मडारिएर कालो बादल आउन थालेपछि उनको मन आत्तिन्छ फेरि पनि खोला कति ठूलो हुने हो र के के क्षति पुर्‍याउने भन्ने ।

'कालो मडारिएको बादल देखिएपछि डर लाग्न थाल्छ, फेरि पनि पानी पर्ने र खोला भरिने हो कि भनेर', उनले भने,'तीन दिन भयो, फेरि पनि खोला बढेर बगाउँछ भनेर सुत्न पाएका छैनौँ ।'


यही असार २ गते मेलम्ची खोलामा बाढी आउँदा उहाँको घर र जग्गा सबै बाढीले बगाएको थियो । साँझ ७ः०० बजे खोलामा ठूलो आवाज आयो र घरबाहिर निस्केर हेर्दा ठूलो पानी आइरहेको उनले देखे । त्यो खोला छिनभरिमा नै उर्लियो र राति १२ः०० बजे उहाँको घरजग्गा सबै बगायो । 'त्यो दिन हामी घरबाट चाँडै निस्केरमात्र बाँच्न पायौँ,' उनी भन्छिन्,'खोलामा ठूला आवाज र जमीन थरथर काम्न थालेपछि हामी बाहिर के भयो भनेर बाहिर निस्केका हौँ ।'

गत बुधबार आएको मेलम्ची नदीमा आएको पानीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका–१ को तिमु र चिउरी खर्क, वडा-२ क्युल, वडा-६ चालिसेमा बढी क्षति पुर्‍याएको छ । पचपन्न वर्षीया ज्योति उक्त ठाउँमा बसेको धेरै भए पनि यसरी खोलामा ढुङ्गाको आवाज आउँदै बाढी आएको र जमीन थर्किएको कहिल्यै देखेकी थिइनन् ।  

यस्तै सोही ठाउँका मीनमार तामाङको पनि बगरमा रहेको घर बाढीले लग्यो । घरमा रहेको सबै बगाएपछि सपरिवार उहाँ डाँडामा त्रिपालमा बस्नुभएको छ । खोला एक्कासि बढेर आउँदा आफू र छोराछोरीलाई बचाउन लाग्दा घरको केही नै जोगाउन उनले पाइनन् ।  


Author

थप समाचार
x