बागमती

तारकेश्वरका अध्यक्ष अधिकारीमाथि अभद्र व्यवहारको आरोप

इकागज |
असार ११, २०८१ मंगलबार १०:३८ बजे

काठमाडौँ- नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीमाथि उपाध्यक्ष र केहि वडाध्यक्षहरूलाई अभद्र व्यवहार गरेको आरोप लागेको छ । असार ९ गते कार्यपालिकाको बैठकमा अभद्र व्यवहार गरेको अध्यक्ष अधिकारीमाथि आरोप लागेको हो ।

बैठकमा २०८१/८२ को बजेटको सवालमा गाउँसभाबाट कार्यक्रमिक बजेट पेश गरौँ भनि छलफल गर्न खोज्दा गाउँपालिका अध्यक्ष अधिकारीले विषयगत बजेट मात्र प्रस्तुत गरेको उनीहरूले आरोप लगाएका छन् ।


गाउँसभा पश्चात् मनोमानी रुपमा शीर्षकगत बजेटहरू राखी एकलौटी रुपमा अघि बढेकाले सो गलत गतिविधिको विषयमा छलफल गर्दा अध्यक्ष अधिकारीले बैठक हलमा उपाध्यक्ष हरीप्रसाद रिमाल, वडा नम्बर २ का शिवप्रसाद पनेरु, वडा नम्बर ४ का अध्यक्ष‍ हरीबहादुर पौडेल र वडा नम्बर ६ का अध्यक्ष नारायणप्रसाद रिमाललाई अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।

अध्यक्ष अधिकारीले उनीह्यरूलाई बैठक हलबाट निस्किनुहोस् भनेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गाउँसभाको लागि विषयगत समितिहरूको बैठक नराखी विधि, प्रकृया मिचेर निरंकुश र तानाशाही प्रवृत्ति देखाएको उनीहरूले विज्ञप्तिमार्फत भनेका छन् । 'जनअभिमतको अपमान गरेकोले र विगतका वर्षहरूमा र हाल चालु आ.ब. २०८०/८१ मा चरम बेथिती, अपारदर्शिता, अनियमितताहरू अत्यधिक बढ्दै गयो' विज्ञप्तिमा भनिएको छ 'गलत गतिविधिप्रति गम्भीर आपत्ति प्रकट गर्दै तारकेश्वर गाउँपालिको अध्यक्षद्वारा गरिएको चरम बेथिती, विकृति र गलत गतिविधिको विरुद्धमा अघि बढ्न जनसमुदायमा आग्रहसहित हार्दिक अपिल गर्दछौं ।'

अध्यक्ष अधिकारी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुन् भने उपाध्यक्ष रिमाल नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका  हुन् ।


Author

थप समाचार
x