बागमती

मकवानपुरका नौ पालिकाले ल्याए बजेट

इकागज |
असार ११, २०८१ मंगलबार १९:११ बजे

बागमती- मकवानपुरका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट घटाएर ल्याएका छन् । मकवानपुरका १० मध्ये नौ पालिकाले निर्धारित समय (असार १० गते) भित्रै बजेट ल्याएका छन् । जनप्रतिनिधिबीचको विवादका कारण यहाँको बागमती गाउँपालिकाले बजेट ल्याएको छैन । 

सोमबारमात्रै मकवानपुरको मनहरी, मकवानपुरगढी, राक्सिराङ, कैलाशा र भीमफेदी गाउँपालिकाले आगामी आवको ल्याएका छन् । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाले भने अघिल्लो साता बजेट ल्याएका थिए । 


आर्थिक तरलता, राजस्व सङ्कलनमा गिरावट, सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा कटौतीलगायत कारणले यहाँका स्थानीय तहहरूले चालु आवको भन्दा आकार घटाएर ल्याएका छन् । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आवका लागि रु ९० करोड १३ हजारको बजेट ल्याएको छ । यो चालु आवको तुलनामा रु तीन करोड कम हो ।

यस्तै, राक्सिराङ गाउँपालिकाले आगामी आवका लागि रु ५४ करोड ६१ लाख ७३ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले चालुतर्फ रु ३३ करोड ४१ लाख ६७ हजार र पुँजीगततर्फ रु २१ करोड २० लाख पाँच हजार छ सय २३ खर्च हुने अनुमान रहेको प्रस्तुत गरे । 

मकवानपुरको कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आवका लागि रु ४८ करोड ७८ लाख ६७ हजारको बजेट प्रस्तुत गरे । मकवानपुरगढी गाउँपालिकाले पनि चालु आवको तुलनामा रु चार करोड छ लाख ७६ हजार बजेट घटाएर रु ६२ करोड दुई लाख ५६ हजारको बजेट प्रस्तुत गरेको छ । 

यस्तै मकवानपुरको भीमफेदी गाउँपालिकाले पनि आगामी आवका  लागि रु ७४ करोड ३६ लाख ७३ को बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठले चालु आवको भन्दा रु एक करोड घटाएर बजेट प्रस्तुत गरेका थिए ।


Author

थप समाचार
x