बागमती

तारकेश्वर गाउँपालिका अध्यक्षलाई बुझाएको १७ बुँदे ध्यानाकर्षण पत्रलाई बेवास्ता गरियो : एमाले-माओवादी

'राति ८ बजेसम्म सुरु नभएको गाउँसभा रातारात सम्पन्‍न भयो भन्‍नु लज्जास्पद र गैरजिम्मेवार'

इकागज |
असार ११, २०८१ मंगलबार २१:० बजे

काठमाडौँ- नुवाकोटको तारकेश्वर गाउँपालिकाको दशौं गाउँसभाको पूर्व सन्ध्यामा गत असार ४ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संयुक्त रूपमा बुझाएको १७ बुँदे ध्यानाकर्षण पत्रलाई पूरै बेवास्ता गरेको भन्दै खेद प्रकट गरिएको छ । एमाले तारकेश्वर गाउँ पार्टी कमिटीका कार्यवाहक अध्यक्ष टेकबहादुर तामाङ र माओवादी केन्द्र तारकेश्वर गाउँ पार्टी कमिटी अध्यक्ष सोमबहादुर तामाङले मंगलबार विज्ञप्ति जारी गर्दै खेद प्रकट गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, 'हाम्रा पार्टीहरूबाट निर्वाचित उपाध्यक्ष र वडा अध्यक्षहरूलाई कार्यपालिका बैठक तथा गाउँसभा सम्पन्न गर्ने क्रममा विविधसंगत गरौं भनी माग राखी आफ्नो धारणा राख्दा गरिएको घोर अपमानप्रति खेद प्रकट गर्दछौं ।'


गाउँसभाको नीति, नियम र विधिअनुसार विषयगत समितिको बैठकहरू नै नबसी एकलौटी ढंगले जबरजस्ती सयौं प्रहरी प्रशासनको बलमा जननिर्वाचित प्रतिनिधिहरूलाई बोल्न समेत निषेध गरी गरिएको भनेको गाउँसभा असंवैधानिक र गैरकानुनी रहेको उनीहरूले बताएका छन् । राति करिब ८ बजेसम्म सुरु नभएको गाउँसभा रातारात सम्पन्न भयो भन्नु लज्जास्पद र गैरजिम्मेवार भएको भन्दै उनीहरूले उक्त कार्यको घोर भर्त्सना गरेका छन् । 

'टोल टोल र वडाबाट योजना छनौट गरी सम्पन्न गर्नु पर्ने गाउँसभा कुनै विधि प्रक्रिया नपुर्याइ गर्न खोज्दा आक्रोशित जनसमुदायहरू उपस्थित भई आफ्नो अधिकार प्राप्तिका लागि गरिएको स्वःस्फूर्त आन्दोलनमा बल प्रयोग गरी गरिएको दमनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आफ्नो गल्तीलाई स्वीकार गरी विधिसम्मत गाउँसभा सम्पूर्ण जनप्रतिनिधिको सहभागिता हुने गरी सम्पन्न गर्नको निमित्त ध्यानाकर्षण गर्दछौं । अन्यथा यसबाट सृजित हुने समस्याको जिम्मेवार स्वयं पालिका अध्यक्ष हुनेछ,' जारी विज्ञप्तिमा उल्लेख छ ।

 


Author

थप समाचार
x