बागमती

बिजुली बजारमा फल्चा शैलीमा निर्मित बस बिसौनीको उद्घाटन

इकागज |
असार १६, २०८१ आइतबार १३:३५ बजे

काठमाडौँ - अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी आजबाट शुभारम्भ भएको छ ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फल्चा उद्घाटन गरेकी हुन् । यसअघि (२०८१ जेठ १ गते) बाट सडकको अर्को किनाराको फल्चा सञ्चालनमा ल्याइसकिएको छ । 


‘यी संरचनाहरू काठमाडौँको पहिचानसँग जोडिएको नेवा निर्माण शैलीका स्मारक बन्नेछन् । काठमाडौँको पहिचान मुख्य सडकबाट प्रवर्धन हुनेछ ।’ समुदघाटनपछि बोल्दै उपप्रमुख सुनिता डंगोलले भने, ‘सहरी सेवा वितरण र सुविधा व्यवस्थापन गर्ने कामसँग मौलिकता जोड्दै लगिनेछ ।’  

परम्परागत निर्माण सामग्री, शिल्प र शैली पच्छ्याउन परेकोले आधुनिक संरचना निर्माणभन्दा लगानी र निर्माण अवधि धेरै लागेको वडाध्यक्ष रामकुमार के. सी. ले जानकारी दिए । यसरी निर्माण गरिएको संरचनाको सुरक्षा गर्न फल्चाका उपभोक्ता, पैदलयात्री तथा स्थानीयबासी सबैले समान दायित्व बोध गर्नु पर्ने केसीको भनाइ थियो । 

कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरेर बिसौनी निर्माण गरिएको हो । वडा सदस्य एवं निर्माण संयोजक सतिश तण्डुकार भन्छन्, ‘बस्नका लागि काठकै मेच राखिएका छन् । बिसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् ।’ उनका अनुसार २ वटा बस बिसौनी निर्माण सम्पन्न गर्दा करिब ५३ लाख रुपैयाँ खर्च भएको छ । 

फल्चा उद्घाटन अवसरमा जम्मा भएका स्थानीय र सर्वसाधारणले मौलिक शैलीको संरचनाले सुन्दरतासँगै समृद्धि दर्शाएको प्रतिक्रिया दिए । 

यसपछि अब नयाँ बानेश्वर चोक वारिपारि २ वटा यस्तै शैलीका बस बिसौनी निर्माण गर्ने योजना रहेको तण्डुकारले जानकारी दिए । 


Author

थप समाचार
x