मकवानपुरमा एक हप्ता थप निषेधाज्ञा
फाइल तस्बिर
हेटौंडा : मकवानपुरमा एक हप्ता निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले असार १४ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेका हुन् । यसअघिको निषेधाज्ञा आज राति १२ बजेसम्म कायम थियो ।
मंगलबारदेखिको निषेधाज्ञामा गैर खाद्य पसलहरु, पुस्तक तथा स्टेसनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ताचप्पल पसल, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् विक्रीवितरण गर्ने पसल दिनको १२ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइनेछ ।
यात्रुबाहक सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने भएको छ । निजी सवारी साधनसहित मयुरी, अटो, ट्याम्पोमा दुई जना भन्दा बढी यात्रु बोक्न नपाउने गरी जोर बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी पाण्डे बताए ।
बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिने सेवा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै भिडभाड नहुने गरी एक तिहाई कर्मचारीहरूबाट बिहान १० बजेदेखि दिनको २ बजेसम्म नियमित सञ्चालन हुनेछ ।
यस्तै रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट डेलिभरी सेवा मात्रै सञ्चालन पाइनेछ । हेटौंडा उपमहानगरपालिकाको खोपेगल्लीमा रहेका सम्पूर्ण पसल र बसपार्कमा रहेका खुद्रा तरकारी तथा माछामासु बजार भने पूर्णरूपमा बन्द हुनेछ ।
यसअघि औषधी पसल, कृषि बीउबीजन तथा मल विक्री वितरण गर्ने पसल र भेटेरिनरी, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्न दिइएको थियो ।
अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसलहरू भने बिहान ४ बजेदेखि बिहान १०:०० बजेसम्म मात्रै खोल्न पाउने व्यवस्था गरिएको थियो ।
पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गर्दै भिडभाड नहुने सुनिश्चितता सम्बन्धित व्यवसायीले गर्नुपर्ने प्रशासनले भनेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया