बागमती

लटारम्मेश्वर महादेवको मन्दिर : नयाँ पर्यटकीय गन्तव्य बन्दै

इकागज |
असार २४, २०८१ सोमबार १०:२ बजे

हेटौंडा- धार्मिक पर्यटनका हिसाबले मकवानपुरको भीमफेदी गाउँपालिका एक अनौठो गन्तव्य बनेको छ। यहाँको लटारम्मेश्वर महादेवको मन्दिरले धेरैलाई आकर्षित गरिरहेको छ।

यस क्षेत्रको विशिष्ट भौगोलिक अवस्थिति र धार्मिक महत्वका कारण मकवानपुर लटारम्मेश्वरलाई पर्यटकहरूले नयाँ गन्तव्य बनाउन थालेका छन् । समुद्री सतहबाट १८५६ मिटर उचाइमा रहेको यो मन्दिरबाट देखिने हिमशृङ्खलाको दृश्यले पर्यटकलाई मुग्ध पारेको छ ।


यहाँको धार्मिक महत्वबारे एउटा रोचक किंवदन्ती छ। माथिल्लो यज्ञकुण्डमा महादेव त्रिलोक भ्रमण गरिरहँदा उनकी पत्नी सतीदेवीको लट्टा खसेको थियो । त्यही कारणले यो क्षेत्र ‘लटारम’ नामले चिनिन्छ। हरेक वर्ष माघे सङ्क्रान्ति र वैशाख १ गतेका दिन यहाँ विशेष मेला लाग्ने गर्छ । भीमफेदी गाउँपालिकाको इपाबाट २ घण्टाको पैदल हिँडाइपछि डब्लु डाँडाको थुम्कोमा महादेवको मन्दिर पुग्न सकिन्छ। त्यहाँबाट आकर्षक गणेश हिमाल र प्राकृतिक सुन्दरताको दिव्य दृश्य अवलोकन गर्न सकिन्छ ।

डब्लु डाँडालाई बादलले ढाकिरहन्छ र छिनैमा बादल फाटेर नयाँ दृश्यहरू देखापर्छन् । सिरसिरे हावाले लहरिंदा बोटविरुवाका पातहरू नाच्ने गर्छन्। यी अनौठा प्राकृतिक दृश्यहरूले पर्यटकलाई अलौकिक अनुभूति प्रदान गर्छन् ।

काठमाडौँबाट मात्र २ घण्टा र हेटौँडाबाट १ घण्टामा पुग्न सकिने भीमफेदी इपाबाट २ घण्टा पैदल चढ्दा लटारम्मेश्वरको दर्शन गर्न सकिन्छ । व्यस्त शहरी जीवनबाट अलग्गिएर प्राकृतिक सौन्दर्य र धार्मिक शान्तिको अनुभव लिन चाहनेहरूका लागि यो स्थान उपयुक्त छ ।


Author

थप समाचार
x