बागमती

बागमतीमा कांग्रेसका बहादुरसिं लामाले मुख्यमन्त्री पदका लागि दाबी पेश गर्दै

इकागज |
साउन ७, २०८१ सोमबार ९:४३ बजे

हेटौंडा - बागमती प्रदेशमा नेपाली कांग्रेसका बहादुरसिं लामाले मुख्यमन्त्री पदका लागि दाबी पेश गर्दै छन्।

हेटौंडामा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामालाई सर्वसम्मत निर्णय गर्दै मुख्यमन्त्रीको उम्मेदवार बनाएको थियो। लामाले आज सोमबार १० बजेपछि मुख्यमन्त्री पदका लागि आफ्नो दाबी पेश गर्नेछन्, जसमा नेकपा एमालेको समर्थन छ।


बागमती प्रदेशको इतिहासमा पहिलो पटक कांग्रेसले सरकारको नेतृत्व गर्न लागेको हो। संघीयता लागू भएपछि बागमतीमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, र राजेन्द्र पाण्डे जस्ता नेताहरू मुख्यमन्त्री बने, तर कांग्रेसको नेतृत्वमा सरकार बन्न सकेको थिएन।

लामा पेशाले निर्माण व्यवसायी हुन् । २०७९ मंसिर ४ मा नुवाकोट २ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। उनले २०५४ सालमा गाविस अध्यक्षको रुपमा जनप्रतिनिधिको भूमिकामा काम गरिसकेका छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते बेलुका ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनको आह्वान गरेका छन्। कांग्रेसका ३७ र एमालेका २७ सांसद गरी ६४ सांसदको समर्थनमा लामाले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न लागेका हुन्।

प्रदेशसभामा सात दलको प्रतिनिधित्व छ । जसमा माओवादी केन्द्रका २१, राप्रपाका १३ (सभामुखसहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३, र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

प्रदेशको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले १८ महिने सरकार चलाएर आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले उनलाई अर्को सरकार गठन नभएसम्म काम चलाउ सरकारको रुपमा कार्य सञ्चालन गर्न अनुमति दिएका छन्।

 


Author

थप समाचार
x