बागमती

काठमाडौं महानगरले विदुर नगरपालिकाको ऐतिहासिक र धार्मिक स्थलहरूको संरक्षणमा सहयोग गर्ने

इकागज |
साउन ७, २०८१ सोमबार ११:२ बजे

फाेटाे: मेयर राजन श्रेष्ठको सचिवालय

नुवाकोट - काठमाडौं महानगरपालिकाले विदुर नगरपालिकामा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, र प्राकृतिक सम्पदाहरूको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण सहयोग गर्ने भएको छ। विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठसहितको टोलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग भेटघाट गर्दै यस विषयमा प्रारम्भिक छलफल गरेका छन्।

विदुर नगरपालिकाभित्र रहेका सम्पदाहरूको संरक्षण र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले गरिएको यस भेटघाटमा मेयर श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर शाहलाई नुवाकोट जिल्लाको ऐतिहासिक र धार्मिक सम्पदाहरूको बारेमा जानकारी गराएका थिए।


विदुर नगरपालिकाको तर्फबाट नुवाकोटको साततले दरबार, भैरवीदेवी मन्दिर, जालपादेवी मन्दिर क्षेत्र, जलविहार (डि-सिल्ट्याकीं), वेत्रावति उत्तरगया धाम, स्वयम्भू चैत्य लगायतका क्षेत्रहरूको संरक्षण र प्रचारप्रसारका लागि सहयोगको अपेक्षा गरिएको थियो।

काठमाडौं महानगरपालिकासँगको सहकार्यले विदुर नगरपालिकामा धार्मिक र सांस्कृतिक गतिविधिहरूको प्रचारप्रसारमा समेत सहयोग पुग्नेछ। भेटघाटमा काठमाडौंसँग जोडिएका धार्मिक परम्परा अनुसारका सिन्धुरे जात्रा लगायतका जात्रा तथा अन्य मेलाहरूको संरक्षणका लागि सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो।

विदुर नगरपालिकाको तर्फबाट मेयर श्रेष्ठले नुवाकोटका विभिन्न सम्पदाहरूको संरक्षण र प्रचारप्रसारका लागि सहयोगको प्रस्ताव सहित पत्र हस्तान्तरण गरेका थिए। उनले नुवाकोटको साततले दरबार, भैरवी मन्दिर, त्रिवेनी स्थल जालपा क्षेत्र लगायतका स्थलहरूको संरक्षणका लागि समन्वय र सहकार्यको अपेक्षा गरेको जानकारी दिए।

नुवाकोट जिल्ला धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भए पनि आवश्यक संरक्षण र प्रचारप्रसार नहुँदा पछि परेको छ। भूकम्पपछि चीन सरकारले पुनर्निर्माण गर्ने सम्झौता गरेको साततले दरबारको पुनर्निर्माण अझै पनि बाँकी रहेको छ।

यस सहयोगले विदुर नगरपालिकाका ऐतिहासिक र धार्मिक सम्पदाहरूको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने र नुवाकोटलाई पर्यटकीय आकर्षणको केन्द्रबिन्दु बनाउने अपेक्षा गरिएको छ।


Author

थप समाचार
x