बागमती

प्रदेशमा सुशासन र आर्थिक विकासका लागि इमान्दारीपूर्वक लाग्छु : मुख्यमन्त्री लामा

इकागज |
साउन १५, २०८१ मंगलबार २०:२० बजे

फाइल तस्बिर

मकवानपुर- बागमती प्रदेशसभाका मुख्यमन्त्री बहादुरसिंह लामाले यहाँका १३ वटै जिल्लामा विकास पूर्वाधार निर्माणका साथै आर्थिक समृद्धि तुल्याउनेतर्फ इमान्दारीपूर्वक लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशसभाको आजको बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा प्रतिपक्ष दलका नेताहरूले उठाएका विभिन्न प्रश्नको उत्तर दिँदै वर्तमान सरकारले संसदमा रहेका सबै दलसँग सहकार्य र समन्वय गरेर प्रदेशमा सुशासन र आर्थिक विकासका कार्यमा जोड दिने बताए ।


मुख्यमन्त्री लामाले प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले उठाएका राष्ट्रिय सरोकारका विषय र विकास पूर्वाधार निर्माणका क्रममा कुनै प्रकारको विभेद नगरिने र योजना, बजेट बाँडफाँटमा सम्मानजनक अवसर दिलाउने दृढता व्यक्त गरे । उनले अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम र आव २०८१/८२ को बजेटलाई सकारात्मक रूपमा जनहितलाई केन्द्रमा राखेर कार्यान्वयन गर्ने बताए । 

त्यस अवसरमा सत्तापक्षका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले प्रदेशमा राजनीतिक स्थायित्व, दिगो विकास र जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता सहकार्य भएको बताए । 

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारले प्रदेशमा सुशासन, भ्रष्टाचार नियन्त्रण र जनतामा आशा जागृत गर्न आवश्यक रहेको उल्लेख गरे ।  

यसैगरी नेकपा (माओवादी केन्द्र) का नेता युवराज दुलाल, राप्रपा संसदीय दलका नेता उद्धव थापा, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले प्रदेशमा पटकपटक गठबन्धन परिवर्तन हुँदा सुशासन, शान्तिसुरक्षा एवं जनता आकाङ्क्षा पूरा गर्न समस्या भइरहेको धारणा राखे । उनीहरूले सत्ताप्राप्तिकै स्वार्थले अर्को गठबन्धन सरकार बनेकाले आआफ्नो पार्टीको तर्फबाट वर्तमान सरकारलाई विश्वासको मत दिन नसक्ने जानकारी गराए । 

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईंले प्रदेशमा अहिले भएको गठबन्धनको सरकारले जनताको हितमा र राष्ट्रियप्रति इमान्दारीपूर्वक काम गर्न नसक्ने अवस्था देखिएकाले आफ्नो पार्टीले विश्वासको मत नदिइ तटस्थ रहने निर्णय गरेको जानकारी दिए । 

बैठकमा सभामुख भुवनकुमार पाठकले तत्कालीन प्रदेश प्रमुख यादवचन्द्र शर्माले हालै मन्त्रिपरिषद् गठन एवं कार्यविभाजन गर्नुभएको सम्बन्धी पत्र र प्रदेश प्रमुख सचिवालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।


Author

थप समाचार
x