बागमती

सडक अवरोध हटाउन विज्ञसहितको द्रुत प्रतिकार्य टोली

इकागज |
साउन १६, २०८१ बुधबार १६:५७ बजे

मकवानपुर - बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभित्रका सडकमा विपद्बाट हुनसक्ने  अवरोध तुरुन्त हटाउने उद्देश्यले विज्ञसहितको द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले मन्त्रालयले विज्ञको सहायता लिने गरी भौतिक पूर्वाधार विकास निर्देशनालयका निर्देशकको संयोजकत्वमा पाँच जनाको द्रुत प्रतिकार्य टोली गठन गरी परिचालन गरेको जानकारी दिए । 


सवारी चाप भएका सडकमा वर्षादजन्य तथा प्राकृतिक विपद्का कारण आपत्कालीन आवागमनसमेत अवरुद्ध हुने र न्यूनतम् सूचना प्रवाह तथा समन्वयको अभावमा वैकल्पिक पहुँचमार्ग पहिचान र सञ्चालन गर्न नसक्दा सर्वसाधारणले सास्ती भोग्दै आएको मन्त्रालयले जनाएको छ ।

 मन्त्री मास्केले सो टोलीले अवरुद्ध मुख्य प्रादेशिक सडकहरूको निरन्तर पहिचान गर्ने, सूचना सम्प्रेषण गर्ने, वैकल्पिक मार्ग पहिचान गर्ने, आकस्मिक रूपमा अवरुद्ध सडक यथाशीघ्र स्रोतसाधन प्रयोग गरेर छिटो सुचारू गर्ने बताउनुभयो । उक्त टोलीले अन्तर निकाय समन्वय गर्ने, विनियोजित बजेटबाट स्रोत व्यवस्थापन गर्ने, प्रचलित कानुनको अधीनमा रही कार्यक्षेत्रगत शर्तहरुको कार्यान्वयन गर्ने पनि जनाइएको छ ।
 


Author

थप समाचार
x