बागमती

सिन्धुपाल्चोकको हेलम्बुमा पुग्यो मेडिकल टिम, सुरु भयो स्वास्थ्य शिविर

इकागज |
असार १०, २०७८ बिहीबार १०:३८ बजे

हेटौँडा : बुधबार बागमती प्रदेशबाट सिन्धुपाल्चोकको हेलम्बुमा १८ जनाको स्वास्थ्यकर्मीको टिम पुगेको छ । बाढी, पहिरो प्रभावित क्षेत्र हेलम्बुको दुई स्थानमा स्वास्थ्यकर्मीले क्याम्प लगाउने भएका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्य प्रमुख सुपेन्द्र कार्कीले हेलम्बुको गणेसिरी र भुवनेश्वरी माविमा क्याम्प राखेर स्वास्थ्य परीक्षण गर्ने बताए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालका तीन जना चिकित्सकसहित सेना र प्रहरीसहितको स्वास्थ्य टोली हेलम्बुमा पुगेको हो ।


उनीहरुले आजबाट गणेसिरीमा क्याम्प लगाएर स्वास्थ्य परीक्षण सुरु गरेका छन् । मेडिकल टिमले त्यहाँ भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘ब्याकअप’ समेत दिनेछन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्वमा सेना र प्रहरीसहितको स्वास्थ्कर्मीले आवश्यक परे प्रसुति सेवा समेत प्रदान गर्नेछन् । हेलम्बुमा असार महिनामा मात्र १९ जना प्रसुति हुने जानकारी आएको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले जानकारी दिए । यता हेलम्बुमा सेनासहितको स्वास्थ्यकर्मीसँग हुँदा अन्य स्वास्थ्यकर्मीहरु पनि सुरक्षित महसुस भएको प्रतिष्ठानका सुपेन्द्र कार्कीले बताए । बाढी र पहिरो आए सेना र पुलिसले उद्दार गर्ने उनले बताए ।

यस्तै बुधबार बामगती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुको अवलोकन गरी फर्केका छन् । सिन्धुपाल्चोकमा आवश्यक क्षति रोक्न आवश्यक सामान र बजेट उपलब्ध गराइएको छ । यसअघि मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन निर्देशक समितिले सिन्धुपाल्चोकलाई १ करोड दिने निर्णय गरेको थियो ।


Author

थप समाचार
x