पाँचखालको बजेट ८९ करोड ५६ लाख
काभ्रे : पाँचखाल नगरपालिकाले नवौँ नगरसभाबाट ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 'कृषि शहर पाँचखाल नगर'को नारा लिएको नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को लागि नगरप्रमुख महेश खरेलले पेश गरेका नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।
सभामा नगर उपप्रमुख लक्ष्मी दनुवारले ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ को बजेट प्रस्तुत गरिन । विनियोजित बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकार शसर्त अनुदान २४ करोड ९७ लाख, प्रदेश सरकार शसर्त अनुदान २ करोड १४ लाख, प्रदेश सरकार समपुरक अनुदान ३ करोड, प्रदेश सरकार बिशेष अनुदान ५९ लाख, सामाजिक सुरक्षा १३ करोड, नेपाल सरकार राजश्व बाँडफाँड ८ करोड ४६ लाख गरी बाँडफाड नहुने रकम ४३ करोड ७० लाख रहेको छ ।
त्यसैगरी बाँडफाड गर्न योग्य ३१ करोड ९२ लाख ७८ हजार ५ सय ४३ रहेको छ । जसमध्य बजेटको स्रोत नेपाल सरकार राजश्व बाँडफाड ८ करोड ४६ लाख, नेपाल सरकार समानिकरण अनुदान १३ करोड २१ लाख, प्रदेश सरकार समानिकरण अनुदान १ करोड १३ लाख ४४ हजार, प्रदेश सरकार राजश्व बाँडफाड ३ करोड ७० लाख ८४ हजार ५ सय ४३, अल्या स्रोत १ लाख ५० हजार, आन्तरिक स्रोत ५ करोड र सडक बोर्ड ४० लाख समेत गरी ३१ करोड ९२ लाख ७८ हजार ५ सय ४३ बाँडफाँड योग्य बजेट विनियोजन गरीएको छ । त्यसैगरी विबिध स्रोतको अनुमान १३ करोड ९३ लाख ५० हजार रहेको छ ।
त्यसैगरी अनुमानित खर्च तर्फ प्रशासनिक १४ करोड ६ लाख २८ हजार ५४३ रुपैयाँ, ०७७/०७८ को दायित्व (टेण्डर) ४ करोड, ०७७/०७८ को दायित्व (उपभोक्ता समिति र अन्य) ३ करोड, बिपद व्यवस्थापन कोष १ करोड, नगर स्तरिय आकस्मिक योजना १ करोड, प्रदेश समपुरक योजना ३ करोड, संघीय-अन्य समपुरक योजना ५ करोड, कोरोना रोकथाम नियन्त्रण कार्य १ करोड, नगरस्तरिय योजनाको परियोजना अध्ययन प्रतिवेदन ३० लाख, (वडा, नगर,बिषयगत) गौरवका योजना तथा कार्यक्रम ७ करोड गरी बिषयगत खर्च ६५ करोड रहेको छ ।
नीति तथा कार्यक्रम पास भएपनि बजेटबारे नगरसभामा विभिन्न चरणमा छलफल गरेर सौहार्द तरीकाबाट पास हुने नगरप्रमुख खरेलले जानकारी दिए ।
८ दशमलब ५ किमि सडक कालोपत्रे
चालु आ.व. मा मात्र पाँचखाल नगरपालिकाका विभिन्न वडामा ८ दशमलब ५ किलोमिटर सडक कालोपत्रे भएको छ भने करीब ३० किलोमिटर भन्दा बढी सडक पक्कि नाली सहित स्तरोन्नति भएको नगरपालिकाले जनाएको छ । प्रत्येक वडामा कालोपत्रे सडक पुर्याउने उद्येश्य अनुरुप यसै आ. व. मा वडा नं. ४,५,६,७,९,१०,११,१२ र १३ मा नगरपालिकाबाट पहिलो पटक कालोपत्रे भएको छ । २, ३ र ८ मा यस अघि नै कालोपत्रे सडक पुगेको नगरले जनाएको छ । पाँचखालमा हाल सम्म वडा नं १ मा हालसम्म पनि कालोपत्रे सडक पुग्न नसकेको हुँदा उक्त वडामा ७८/७९ मा कालोपत्रे सडक पुर्योउने लक्ष्य भएको नगरप्रमुख खरेलको भनाई छ ।
नगरपालिकाले विधुत प्राधिकरण पाँचखाल वितरण केन्द्रको सहकार्यमा पाँचखालमा काठको पोल मुक्त नगर बनेको छ । धेरै नगरपालिकामा समस्यामा रहेको फोहोर व्यवस्थापनको लागि पाँचखाल नगरपालिकाले आफ्नो समन्वयमा निजी क्षेत्रको साझेदारीमा घर घरको फोहोर संकलन गरी प्राङगारीक मल उत्पादन तथा प्रशोधन गर्ने कार्यको लागि जग्गा भाडामा लिएर फोहोर संकलन शुरु गरेको नगरपालिकाले जनाएको छ ।
नीति तथा कार्यक्रममा कृषि तथा पशुपंक्षी, स्वास्थ्य, शिक्षा तथा खेलकुद, श्रम तथा रोजगार, संस्कृति तथा पर्यटनलाई प्राथमिकता दिइएको छ । यस्तै पाँचखाल नगरले बाल विवाह अन्त्य गर्नका लागि पाँचखालको शान, बाल विवाहमुक्त हाम्रो अभियान सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले जोखिममा परेका बालबालिकाको निम्ति बाल कोष खडा गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । सभाले नगरको विकास कार्यक्रम तथा सेवा प्रवाहका बारेमा उत्कृष्ट समाचार सम्प्रेषण गरेबापत १ जना पत्रकारलाई पुरस्कृत गर्ने तथा कोभिड–१९ रोकथाम नियन्त्रण एवं उपचारमा प्रत्यक्ष रुपमा खटिएका कर्मचारीहरुको लागि विमा पुरस्कार एवं प्रोत्साहन भत्ता उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै पाँचखाल नगरले २०७८/०७९ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केहि रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न विनियोजन विधेयक २०७८ ल्याइएको छ । त्यसैगरी, एक घर, एक बैंक खाता नीति अनुरुप हरेक परिवारमा एक बैंक खाता खोल्न नगरपालिकाको तर्फबाट आवश्यक सहयोग तथा समन्वय गर्ने उल्लेख गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया