Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

बागमती

पर्यटकको रोजाईमा पर्ने सुकुटेमा सरकारको चासो न योजना

निरोज चौलागाईं |
भदौ ५, २०८१ बुधबार १३:२६ बजे

सिन्धुपाल्चोक- चौतारा साँगाचोकगढी नगरपालिकाको बन्देउदेखि बलेफी गाउँपालिकाको बलेफीसम्म पर्ने सुकुटे करिडोर एक समय सुनसान जस्तै थियो । नेपाल-चीनबीचको तातोपानी नाकाबाट रातभर कन्टेनर तथा सामान आयात गर्ने भ्यानको आवाज सुनिने सुकुटेमा पछिल्लो समय आन्तरिकदेखि बाह्य पर्यटकको आवाज गुन्जिरहेको हुन्छ ।

दिनरात गाडीको आवाजले झर्को लाग्ने सुकुटे क्षेत्र अहिले रातभर पर्यटकको गुन्जासले रमाइलो बन्दै गएको छ । दशकपछि बदलिँदै आएको सुकुटे क्षेत्रमा केहि परिवर्तन हुँदै आएको छ । झण्डै ५/७ वर्ष अगाडि छिटफुट होटेल तथा रिसोर्ट खुलेको सुकेटेमा अहिले होटल तथा रिसोर्ट गरि दुई दर्जन बढी खुलिसकेका छन् । बन्देउ बलेफी सुनसान हुने सुकुटे अहिले राजधानीको मुटुमा रहेको पर्यटकिय क्षेत्र ठमेल जस्तै रातभर संगीतको आवाजले जागिरहेको छ ।  


एकातिर सुनकोशी सुसाई रहेको छ भने अर्कोतिर चराहरूको चिरबिर आवाजले मस्त माहौल बनाउँछ । काठमाडौँको दोहोरी, बार तथा क्लबको विकल्प खोजिरहेको अहिलेको युवा पुस्ता सुकुटेलाई मनोरञ्जनको गन्तव्य बनाउन थालेका छन् । संघीय राजधानी काठमाडौँबाट नजिकैको दुरीमा रहेको सुकुटे विदाको समयमा मात्रै होइन् अरूपछि पनि भिडभाड हुने गर्छ । राजधानीबाट ७० किलोमिटर दुरीमा रहेको सुकुटे मनोरञ्जनको लागि छोटो दुरिको  गन्तव्य हो ।  यहाँ आउने प्राय युवा पुस्ताले छुट्टै मनोरञ्जन लिइरहेका हुन्छन् ।

काठमाडौँबाट सुकुटे आएका विवेक श्रेष्ठलाई सुकुटेले मनोरञ्जन दिएको उनी सुनाउँछन् । 'हामी सुकुटे आएपछि छुट्टै आनन्द आउँछ, खुला वातावरण, आफ्नो तरिकाले बस्न पाइन्छ, आफ्नो तरिकाले खान पाइन्छ' श्रेष्ठ भन्छन् 'हामी यहाँ आउँदा झण्डै रातभर जस्तै स्विमिङ गर्छौ । हाम्रो १०/१५ जनाको ग्रुप छ हामीलाई आनन्द लागेर आएको हौँ ।' धुलिखेलको बाटोको कारण कतिपय पर्यटकहरू आउन गाह्रो मान्ने गरेको श्रेष्ठ बताउँछन् । 

विवेक जस्तै अर्का ग्रुपमा आएकी सनिला थापालाई सुकुटे काठमाडौँभन्दा फरक लागेको सुनाइन् । 'हामीले अन्य जस्तै सोचेका थियौँ तर फरक लाग्यो ग्रुपमा आउँदा रमाइलो हुने रहेछ । गर्मीमा स्विमिङसँगै र्‍याफ्टिङले हामीलाई थप मनोरञ्जन दिलायो' थापाले भनिन् । सुकुटे आउने कतिपय आन्तरिक पर्यटकलाई र्‍याफ्टिङबारे समेत थाहा छैन । तर उनीहरूले र्‍याफ्टिङ गरेपछि थप खुसी हुने गरेको रिसोर्ट व्यावसायीहरू बताउँछन् । र्‍याफ्टिङको लागि एसियाकै सातौं स्थानमा पर्ने सुनकोसी नदि पनि यहि सुकुटे करिडोरमा छ । 

सुकेटेमा यहाँ धेरै रिसोर्ट खुलिसकेका छन् । पर्यटन बढ्न थालेपछि  पछिल्लो समय यहि विकसितसँगै धेरै रिसोर्ट सञ्‍चालनमा आएका छन् । योसँगै सुकुटे परिवर्तन हुँदै आएको छ । राज्यले भने पर्यटकिय क्षेत्रको रुपमा यस क्षेत्रमा लागी लगानी गरेर सुकुटेलाई पर्यटकिय नगरी बनाउन सकेको छैन । 'अहिलेसम्म सुकुटे चिनाउने गरि व्यक्तिले नै लगानी गरेर आएको छ' सिन्धु पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष नारायण श्रेष्ठ भने 'यहाँ न प्रदेश सरकार, न स्थानीय तह कसैको चासो छैन । रिसोर्ट मात्रै होइन र्‍याफ्टिङ पनि गर्ने गरेका छौँ सुकुटे आएका पर्यटकले आफ्नो इच्छा अनुसार र्‍याफ्टिङ गरेर मनोरञ्जन लिने गर्छन् ।'

सुकुटेलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी पूर्वाधार तथा अन्य भौतिक संरचना निर्माणसमेत भएको छैन । सुकुटे करिडोरको लागि बागमती प्रदेश सरकार र सिन्धुपाल्चोकका कुनै पनि स्थानीय तहले यसलाई पर्यटकिय नगरीको रुपमा विकास गर्न सकेका छैनन् ।

सिन्धुपाल्चोकको सुकुटेमा घुम्न तथा मनोरञ्जन गर्न आउनेहरूको लागि सरकारले न त ठोस योजना नै बनाएको छ, न त यो क्षेत्रको बारेमा कुनै अध्ययन गरेको छ । सुकुटे करिडोरमा आएका पर्यटकलाई निजि क्षेत्र र प्रदेश तथा स्थानीय तहको समन्वय भए, तातोपानी नुहाउनेदेखि, ऐतिहासिक दुगुनागढी, लिस्तिमाइ, गौरती भिमसेन, जुगल हिमाल, मुडे, त्रिपुरासुन्दरी माइ मन्दिरलगायत ठाँउहरूमा पर्यटकहरू पुग्नेछन् । यसले गर्दा राज्यलाई समेत फाइदा पुग्ने रिसोर्ट तथा होटल व्यावसायीहरूको भनाइ छ ।

उनीहरु भन्छन् 'यहाँ आन्तरिक पर्यटक बढ्दै गएका छन् । तर भौतिक पूर्वाधार निर्माणलाई व्यवस्थित र पर्यटनमैत्री बनाउने गरी सरकार र निजि क्षेत्रको समन्वय भए सुकुटे पर्यटकिय नगरी बन्ने रिसोर्ट व्यवसायी राजन श्रेष्ठले सुनाए ।

यहाँ रामेछाप, दोलखा काभ्रे काठमाडौँबाट दिउँसोको लागि पिकनिकको लागिसमेत आउने गरेका छन् । यहाँ रिसोर्ट चल्दा २ सय भन्दा बढी स्थानीयले रोजगार पाएका छन् । सुकुटे आउने पर्यटनलाई हिउँदमा धुलोले समस्या निम्त्याउने गरेको छ भने वर्षा सुरु भएसँगै साँगा, बनेपा, धुलिखेल खावाको सडक अवस्थाले पिरोल्ने गरेको छ ।


Author

थप समाचार
x