बागमती

बुढानिलकण्ठ नगरपालिकाले कपडा बैंक सञ्‍चालन गर्ने

इकागज |
भदौ ७, २०८१ शुक्रबार २१:४६ बजे

काठमाडौँ- बुढानिलकण्ठ नगरपालिकाको कार्यालय काठमाडौँमा कपडा बैंक सञ्चालन गर्ने भनि सम्झौता भएको छ । बुढानिलकण्ठ नगरपालिकाको कार्यालय र क्लोथ एण्ड फूड बैंक नेपालबीच कपडा बैंक सञ्चालन गर्ने विषयमा सम्झौता भएको हो ।

बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले देशैभरि संचालन गर्न लागिएको यो कार्यक्रमले हाम्रो घर, समाज र टोल सफा गर्नुको साथै साँच्चिकै आवश्यक व्यक्तिलाई  कपडा प्रदान गर्नु उत्कृष्ट मानवीय कार्य हुने विश्वास व्यक्त गरे । उनले भने, 'आफ्नो घर, टोल र समाजलाई सफा राखौँ !  कोही कपडाविहीन नरहून् भन्ने मुल मन्त्रलाई आत्मासात गर्दै पुण्य कार्यमा सहभागी बनौँ !!' भन्ने मुल नाराका साथ सुरु हुने यो अभियानले समग्र नगरवासीलगायत देशकै हित हुने विश्वास व्यक्त व्यक्त गरे  ।


उनले हाल नगरपालिकाको कार्यालय र वडा नं १० को कार्यालयस्थित कपडा संकलन बक्स राखिने र आगामी आर्थिक वर्षमा प्रत्येक  वडा कार्यालयमा समेत संचालन गरिने योजना रहेको भन्दै नगरवासीलाई पुरानो लत्ताकपडा, झोला, ब्याग, बेल्ट तथा दैनिक प्रयोगजन्य सामग्री जम्मा गरी आ–आफ्नो घर टोल समाज सफा पनि हुने र पूण्यको कार्य पनि हुने हुँदा यो कार्यमा सहभागिताका लागि अनुरोधसमेत गरेका छन् ।

प्रयोगमा नआएका लत्ता–कपडा संकलन गरेर पुन: प्रशोधन (रि–साइकल) गरी आवश्यकताका आधारमा निःशुल्क वितरण गरिने यो कार्यक्रममा जोडिन पाउँदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले निकै खुसी लागेको बताए । मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्ने मुल नाराका साथ नितान्त मानवीय सेवा भावले स्थापना गरिएको बैंकबाट अधिकतम  सेवा लिन सकिने उनले बताए ।

क्लोथ एण्ड फूड बैंक नेपालका प्रमुख अभियन्ता आभिस्कार खनालले देशका सातै प्रदेशमा यो अभियान सञ्‍चालन भइरहेको र देशभरका स्थानीय सरकार तथा विभिन्न संघ–संस्थालाई यो अभियानमा सहकार्य गर्न सबैलाई आव्हान गरे ।

क्लोथ एन्ड फुड बैंक नेपालका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष कमल जि.सी.ले क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुई वर्षमा देशलाई कपडा मुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको बताए । अहिलेसम्म करिब १६० स्थानीय सरकार यो अभियानमा जोडिएको सम्झौतामा समारोहमा अध्यक्ष कमल जि.सी.ले जानकारी दिनुका साथै बुढानिलकण्ठ नगरपालिकालाई धन्यवाद व्यक्त गरे ।


Author

थप समाचार
x