बागमती

नीति तथा योजना आयोगको उपाध्यक्षमा नेपाल नियुक्त

इकागज |
भदौ २६, २०८१ बुधबार २१:२५ बजे

फाइल फाेटाे

मकवानपुर - बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गङ्गादत्त नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ । उनी यसअघि पनि आयोगको सदस्य थिए । 

बैठकले सिन्धुपाल्चोकका नेपाललाई उपाध्यक्ष, सदस्यमा काभ्रेपलाञ्चोकका गुणराज मोक्तान र काठमाडौँका दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा योजनामन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । 


यस्तै, प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा नुवाकोटका दीपक लामा नियुक्त गरेका छन् । सामाजिक विकास मन्त्रालयको प्रस्ताव र खेलकुद मन्त्रालयको स्वीकृतिमा उनी नियुक्त भएका हुन् ।

बैठकले श्रम, रोजगार तथा यातायात र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । यसैगरी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको संघीय इकाइको कार्यालयका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्चलाई पनि स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता लामिछानेले जानकारी दिए । 


Author

थप समाचार
x