बागमती

डुबान तथा पहिरोमा परी ज्यान गुमाएकाहरूलाई २ लाख आर्थिक सहयोग

इकागज |
असोज १२, २०८१ शनिबार २१:३७ बजे

फाइल फाेटाे

ललितपुर - गोदावरी नगरपालिकाले अविरल वर्षाका कारण भएको डुबान तथा पहिरोमा परी ज्यान गुमाएकाहरुको परिवारलाई आर्थिक सहयोग गर्ने  निर्णय गरेको छ । प्रति परिवार राहत स्वरुप दुई लाख दिने निर्णय नगर कार्यपालिकाको शनिबार बसेको आकस्मिक बैठकले गरेको हो ।

नगर प्रमुख गजेन्द्र महर्जनले विपद्को बेला धैर्य गर्न अनुरोध गर्दै भने, ‘नहुनपर्ने पर्ने कुरा भयो, आकस्मिक बैठक बसेर आर्थिक सहयोग गर्ने निर्णय गर्यौँ ।’ मानवीय क्षति हुन नदिन नगरपालिकाले आफ्नो संयन्त्रको भरपुर प्रयोग गरेको बताउँदै नेपाली सेनालगायत अन्य संघ संस्थाको समेत सहयोग लिएको बताए । ‘अथक प्रयासका बाबजुद पनि ज्यान जोगाउन सकिएन’, नगर प्रमुख महर्जनले भने । 


२०७४ सालको स्थानीय तहको निर्वाचन अघि नगरपालिका घोषणा भएको गोदावरी नगरपालिकाको अधिकांश वडा भौगोलिक दृष्टिले विकट छन् । नगरपालिकामा १४ वटा वडा छन् । नगर प्रमुख महर्जनले मान्छेको जीवनको अघि सहयोग गौण भएको बताउँदै परिवारजनलाई सहयोगले केही राहत मिल्ने प्रष्ट पारे ।

राहत घोषणा गर्ने गोदावरी नगरपालिका पहिलो पालिका हो । पहिरो र डुबानका कारण नगरपालिकाको विभिन्न वडामा गरी १३ जनाले ज्यान गुमाएका छन् । गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिल्वालद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सबै वडामा गरेर १३ जनाले जीवन गुमाएका छन्, यो दुखद क्षणमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ, मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दछौंँ ।’

बाढी पहिरोले आक्रान्त भएका नगरबासीलाई सम्बन्धित वडा कार्यालयको समन्वयमा राहतको व्यवस्था गर्ने समेत विज्ञप्तिमा उल्लेख छ । यस्ता दुखद क्षणमा गोदावरी नगरपालिका सदैव नगरबासीसँगै रहने प्रतिबद्धता विज्ञप्ति मार्फत गरिएको छ । उद्धारमा खटिने सबैलाई उच्च सम्मानका साथ धन्यवाद दिँदै सचेत, सर्तक र एकताबद्ध रहन समेत अनुरोध गरिएको छ ।


Author

थप समाचार
x