बागमती

विपद्‍का कारण प्रभावित वडामा महानगरले ट्याङकरबाट पानी वितरण गर्ने

इकागज |
असोज १३, २०८१ आइतबार १६:३५ बजे

ललितपुर - ललितपुर महानगरले विपद्का कारण खानेपानीको समस्या भएका वडामा ट्याङकरबाट पानी वितरण गर्ने भएको छ । 

महानगरस्तरीय विपद व्यवस्थापन समितिको आइतबार बसेको बैठकले वडा स्तरबाट खानेपानीको व्यवस्थापन गर्ने निर्णय गरेको हो । नगर प्रमुख चिरीबाबु महर्जनले बाढी, पहिरोपछि पानीको स्रोत प्रभावित हुने भएकाले पानीजन्य रोग फैलन नदिन यो व्यवस्था गरेको बताए । उनले भने, पानी शुद्धीकरणका लागि किटनासक औषधिको समेत व्यवस्था गरेका छौंँ । ’ यसैगरी बैठकले अत्यावश्यक औषधि जी टु जी माध्यमबाट खरिद गर्ने समेत निर्णय गरेको छ ।


उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले प्रत्येक वडाबाट बाढी प्रभावितको तथ्यांक लिएर त्यसकै आधारमा राहतको व्यवस्था गर्नुपर्ने बताइन् । उपप्रमुख बज्राचार्यले कार्यपालिकाको आकस्मिक बैठकले केही विषयहरू तत्काल निर्णय गर्नुपर्ने उनको धारणा थियो ।  उनले भनिन् , ‘अन्य विषयहरू कार्यपालिकाको बैठकले निर्णय गरेर अघि बढ्दा सजिलो हुन्छ । ’

महानगरका प्रवक्ता एवम वडा नं.९ का अध्यक्ष राजु महर्जनले खोला नजिकका वडाहरू बढी प्रभावित भएको बताए । सडक भासिँदा आवागमन प्रभावित भएको बताउँदै त्यसको व्यवस्थापन गर्न आफू सक्रिय रहेको बताए । सडकमा थुप्रिएको माटोका कारण हिँडडुल गर्न असहज भएकाले तत्काल जेसिभी प्रयोग गरेर सडक सफा गर्नुपर्ने धारणा राखे ।

वडा नं.१३का वडा अध्यक्ष गणेश केसीले बाढीका कारण खानेपानीको पाइप अवरुद्ध हुँदा वडाबासी पानीको समस्या झेलिरहेको बताए । थुनिएको ढल तत्काल खोल्नुपर्ने  र बत्तीको व्यवस्था समेत तत्काल गर्नुपर्ने धारणा राखे । वडा नं.१३, वडा नं.१४ , वडा नं.२५ , वडा नं१८ , वडा नं.२४ , वडा नं२३मा दुई दिनको अविरल वर्षाले तुलनात्मक रुपमा धेरै क्षति पुर्याएको छ । 

वडा अध्यक्ष गणेश केसीले भने, केही ठाउँमा पहिरो पनि गएको छ ,त्यसको पनि व्यवस्था गर्नुपर्छ । स्थानीय सरकार भएको प्रत्याभूति दिलाउनुपर्ने उनले बताए । मानवीय क्षति धेरै भएको बताउँदै एकिन तथ्यांक अझै आउन नसकेको वडा अध्यक्ष केसीले जानकारी दिए ।  वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक तथा वडा नं.१२का वडा अध्यक्ष नारायणलाल अवालेले डुबानमा परेका घरबाट माटो उठाउनु तत्कालको आवश्यकता भएको बताए । उनले भने, महानगरबाट त्यो माटो निकाल्न के सहयोग हुन्छ भन्दै सयौं फोन आइरहेको छ यसका लागि हामीले नीतिगत निर्णय गर्नुपर्छ । ’ 

वडा नं.३ का वडा अध्यक्ष श्री गोपाल महर्जन अप्ठ्यारोमा परेका महानगरबासीलाई तत्काल राहत उपलब्ध गराउनु जनप्रतिनिधिको दायित्व भएको बताए । आफ्नो वडामा अविरल परेको वर्षाका कारण व्यवसायीहरु मर्का परेको जानकारी दिए । 

वडा नं.५का वडा अध्यक्ष विकासमान श्रेष्ठले वडास्तरबाट नै खानेपानीको व्यवस्था मिलाउँदा प्रभावकारी हुने धारणा राखे । उनले भने, ‘घरभित्रको लेदो माटो झिक्र्ने , सडक सफा गर्ने जेसिभी पनि वडाले नै व्यवस्था गर्दा प्रभावकारी हुन्छ , त्यसका लागि नीतिगत निर्णय हुनुपर्छ ।’

कार्यपालिका सदस्य रामशरण पहेलीले दुई दिनको अविरल वर्षाले वडा नं.२४मा रहेको नागदह फुट्ने खतरा रहेको बताउँदै वर्षा रोकिएका कारण तत्काललाई त्यो खतरा टरेको बताए । यसैगरी पशुपति टोलमा बनेको पार्कमा समेत बाढीले क्षति पुर्याएको बताए । 

कार्यपालिका सदस्य सानु अवाले खानेपानीको समस्या अत्यधिक भएको बताउँदै अवरुद्ध सडक खोल्नु अहिले आवश्यकता भएको धारणा राखे । 

सूचना अधिकारी देवप्रसाद गुरागाइँले क्षतिको विवरण संकलन गर्नुपर्ने धारणा राखे ।  पहिरो प्रभावितलाई तत्काल राहतको व्यवस्था गर्नु महानगरको कर्तव्य भएको धारणा राखे । 

जिन्सी शाखा प्रमुख सागर थापाले फोहोर व्यवस्थापन अहिलेको मुख्य चुनौती भएको बताउँदै फोहोर संकलन गर्ने सवारीहरू पानीका कारण काम गर्न नसक्ने अवस्थामा पुगेकाले तत्कालका लागि छिट्टै व्यवस्था गर्नुपर्ने धारणा राखे । 

जनस्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनले स्वास्थ्य चेतनाका लागि र्यापिट रेस्पोन्स टिमलाई तत्काल परिचालन गर्ने बताइन्  । थप औषधिको आवश्यकता रहेको बताउँदै वडा वडामा पानी शुद्धीकरणका लागि औषधि वितरण गर्ने बताइन् ।


Author

थप समाचार
x