बागमती

ललितपुर महानगरको स्वास्थ्य टिम औषधि वितरण गर्न वडा वडामा

इकागज |
असोज १६, २०८१ बुधबार १५:१३ बजे

ललितपुर -  ललितपुर महानगरले दुई दिनको अविरल वर्षासँगै आएको बाढी प्रभावित वडाहरुमा औषधि वितरण सुरु गरेको छ । 

महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाइँले बाढीको विपद्पछि देखिने स्वास्थ्य संकटबारे जानकारी दिन महानगरको र्‍यापिङ रेस्पोन्स टिम वडामा परिचालन भएको बताए ।


उनले भने, ‘ विपदपछि देखिन सक्ने स्वास्थ्य समस्या बुझ्न औषधिसहितको विज्ञसहित टिम वडामा परिचालन गरेका छौं । ’ सूचना अधिकारी गुरागाईंका अनुसार र्‍यापिङ रेस्पोन्स टिम अहिले वडा नं.१३, १४, १८, २५मा खटिएको छ ।

उनले भने,‘ अन्य वडामा पनि टिमका साथीहरू जानुहुन्छ । ’ कुनै पनि किसिमको अप्ठ्यारो, समस्या वा  जिज्ञासा भए महानगरको हटलाइन नम्बर ११३१ सम्पर्क गर्न समेत उनले नगरबासीलाई अनुरोध गरे । 

महानगरपालिकाले जनस्वास्थ्य शाखाका मेडिकल इमर्जेन्सी टिम लिडर डा. छविन्द्र गैरेले पानी शुद्ध बनाउने औषधि लगायत ज्वरो, रूघाखोकी, सामान्य चोटपटकका औषधि वितरण गरेको जानकारी दिए ।

डा. गैरेले भने, ‘ बाढी आएपछि पानीका मुहानहरू प्रदूषित हुन सक्छन्, त्यसैले पानीको शुद्धीकरण अत्यावश्यक छ । ’ शुद्ध पानी पिउन अनुरोध गर्दै पानी शुद्ध बनाउने औषधि पनि दिएका छन् । ’ महानगरले मरेका जनावर कुहिँदा गन्ध  आउन सक्ने तर्फ ध्यान दिदैं गन्ध आउन नदिन स्प्रे समेत विभिन्न ठाउँमा गरिरहेको जनाएको छ ।


Author

थप समाचार
x