बागमती

बाह्रबिसे-तातोपानी सडक खुलाउन तात्यो स्थानीय सरकार, संघ र प्रदेशले उपेक्षा गरेको आरोप

निरोज चौलागाईं |
असोज १७, २०८१ बिहीबार १२:४५ बजे

सिन्धुपाल्चोक- असोज ११ र १२ गतेको अविरल‍ वर्षाले बाह्रबिसे नगरपालिका- ५ स्थित अरनिको राजमार्गको सडक अवरूद्ध भयो । बाह्रबिसे नगरपालिकाको सिरिसे , खोर्सानीबारी, खागदलमा सडक अवरुद्ध भयो ।


उक्त अवरूद्ध सडक स्थानीय सरकारले हरप्रयास गरेर बल्लतल्ल खुलायो । उक्त सडक तत्काल खुलाउन बाह्रबिसे नगरपालिकालाई निकै चुनौती थियो । चुनौती पनि किन नहोस् हिन्दुहरूको महान चाड दशैँको सामान लिएर चीनबाट आएको कन्टेनर अलपत्र हुनबाट रोक्नु थियो ।

कन्टेनर अलपत्र हुन नदिने उदेश्यले राजमार्गको बाटो सहज गराउन नगरपालिका लागि परेको बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेतले बताए । 'राजमार्गको ठाँउठाँउमा पहिरो गएको छ । हामीले सडक  खोलिरहेका छौँ' मेयर बस्नेतले भने ।

स्थानीय सरकार लागि परेर राजमार्ग खुलाउँदा प्रदेश र संघीय सरकारले सहयोग नगरेको मेयर बस्नेतले आरोप लगाए । 'हामीले दिनरात नभनि सडक खुलाउन लाग्यौँ तर संघीय र प्रदेश सरकार मुक दर्शक बन्यो' बस्नेतले भने ।

त्यस्तै भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाको पनि बस्नेतकै जस्तै गुनासो छ । संघीय र प्रदेश सरकारले सहयोग नगरेको उनले आरोप लगाए । 'भोटेकोसी गाउँपालिकाको लार्चामा पुल बगाएपछि अस्थायी रुपमा ह्युम पाइप हालेर बाटो खोल्ने काम भइरहेको छ' शेर्पाले भने 'लिपिङ खोलामा समेत उस्तै समस्या छ तर हामीलाई प्रदेश र संघीय सरकारले उपेक्षा गरेको छ ।' 

नेपाल-चीनको नाकामा संघीय र प्रदेश सरकार चासो दिएर काम गर्नुपर्नेमा उपेक्षा गरेको शेर्पाको भनाई छ । 'यो दायित्व केन्द्र सरकारको हो तर हामीले स्थानीय सरकारको बजेट खर्च गरेर काम गर्नु परेको छ' उनले भने ।

अहिले सडक सुचारू गर्न सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, सिल्क ट्रान्सपोर्ट, नमस्ते ट्रान्सपोर्टलगायत नीजि क्षेत्र सक्रिय रुपले लागि परेका छन् । ११ र १२ गतेको अविरल वर्षाले सडकमा क्षति पुर्‍याएपछि दशैँको सामान लोड भएर चीनको खासामा करिब एक हजार कन्टेनर अलपत्र परेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x