बागमती

बाह्रबिसे नगरपालिकाले दियो लम्की स्किनबाट मरेका २७ गोरुको बीमा रकम

इकागज |
असोज १९, २०८१ शनिबार १७:३१ बजे

सिन्धुपाल्चोक - बाह्रबिसे नगरपालिकाको  लम्की स्किन रोगबाट मरेका २७ गोरुको बीमा रकम उपलब्ध गराएको छ।  नगरपालिका भित्रका हल गोरु पाल्ने किसानको गोरुको बिमा गरिदिएसँगै किसानले बीमा बापतको रकम पाएको हुन् ।

बाह्रबिसे नगर भित्र अहिले नगरपालिकाको अनुदान सहयोगमा किसानले ९८८  हल गोरु पालेका छन ।  पछिल्लो समय गोरु पाल्ने किसान घट्दै गएको र हिमाली तथा पहाडी जमिनमा ट्याक्टरको प्रयोग असम्भव देखिएपछि गत अघिल्लो बर्ष नगरपालिकाले हल गोरु पाल्ने किसानलाई १० हजार अनुदान दिने घोषणा सँगै सहयोग उपलब्ध गराएको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए । 


अहिले नगरको अनुदान दिएको गोरु  लम्की स्किन  रोग लागेर मरेपछि हामीले त्यतिबेला बीमासमेत गरेका थियौं त्यही अनुसार आज एक कार्यक्रमको आयोजना गरेर २४ किसानको २७ वटा गोरुको बीमा रकम उपलब्ध गराएको मेयर बस्नेतले बताए ।

किसानलाई प्रोत्साहन स्वरूप नगरले  गत आर्थिक वर्षमा ९८८ को लागि ९८ लाख ८० हजार रकम अनुदान छुट्याएर सहयोग गरेका हौँ, अहिले त्यतिबेला अनुदान पाएको हल गोरु मरेपछि २२ हजारको दरले किसानलाई बीमा रकम पाएको उनले जानकारी दिए । अझै कतिपयको विवरण आइसकेको छैन होला आएपछि उहाँहरूले पाउनु हुन्छ, अहिले हतार हतार गरेर २७ गोरुको मात्रै पाएको उनले सुनाए ।

'हामीले यसभन्दा अगाडि यसरी पशु बीमा गरेका थिएनौं र यसरी बीमा गरेपछि रकम आउँछ भन्ने बुझेका थिएनौं अहिले आएर थाहा पायौं' बीमा रकम पाएका भक्त बहादुर  तामाङ भने,  'आएको बिमा रकमबाट अर्को गोरु किन्ने छु' । 

त्यस्तै अर्का गोरु पालक किसान पदमबहादुर तामाङले हिजोको दिनमा बीमा गर्ने कुरा बुझ्न नसक्दा नोक्सानी ब्यहोर्नु परेकाे बताए । अहिले आएर पशु बीमा गर्दा मरेको पशुको पैसा आउँदा उनी खुसी छन् । 

नगरपालिकाले दशैंको चियापान कार्यक्रम राखेर उनीहरुलाई बीमा बापतको रकम दिएको हो । त्यस्तै नगरभित्रका अपांग भएका ४० जनालाई बाह्रबिसे नगरपालिकाले खाद्यान्न लगायत  यातायात खर्च सहयोग उपलब्ध गराएको छ ।


Author

थप समाचार
x