बागमती

गोकर्णेश्वरमा बेथिति एवं भ्रष्टाचारविरुद्ध नागरिक भेला

इकागज |
असोज १९, २०८१ शनिबार २०:४३ बजे

काठमाडौँ - गोकर्णेश्वर नगरपालिकामा बेथिति एवं भ्रष्टाचारविरुद्ध नागरिक भेला सुरु भएको छ । सार्वजनिक सरोकारका विषयमा सूचना माग गर्ने गोकर्णेश्वरका ६ जना अभियानकर्मीलाई प्रहरीले पक्राउ गरेपछि यस्तो अभियान सुरु गरिएको हो ।

सार्वजनिक सरोकार सूचना माग गर्ने नगरपालिकाका छजना नागरिकलाई गत असार ३ गते प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । पक्राउविरुद्ध सूचनाको हकका लागि राष्ट्रिय महासंघले अभियान चलाई अभियानकर्मीलाई प्रहरीबाट छुटाएको थियो । छुटेका अभियानकर्मीको सक्रियतामा आज नागरिक भेला आयोजना गरिएको हो ।


भेलालाई सम्बोधन गर्नुहुँदै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं नेपालमा सूचनाको हकको कानुन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका तारानाथ दाहालले नगरपालिकामा भएको यथार्थता कानुनअनुसार बाहिर ल्याउन खोज्दा दुश्मनी साँधेर पक्राउ गराउनु संविधान र कानुन विपरीत भएकाले अभियानकर्मीको रिहाइका लागि योगदान गरेको स्मरण गरे । 

 नागरिकले सत्य जान्नका लागि सूचनाको हकले सहयोग गर्ने उल्लेख गर्दै सबै नागरिकलाई सूचनाको हक प्रयोग गरेर सूचना माग गर्न पनि उनले आह्वान गरे । कार्यक्रममा बिपी सङ्ग्रहालय समिति सुन्दरीजलका संस्थापक अध्यक्ष परशुराम पोखरेल, नागरिक अभियानकर्मीहरु डा सुन्दरसिंह बोहरा, पूर्वप्रहरी नायब उपरीक्षक केपी शर्मा, पुण्य गौतम, हर्कबहादुर तामाङ, सूचना माग गरेकै कारण पक्राउ परेकाहरु किरण केसी, आदर्श क्षेत्री, अस्मिता खत्री, राजु सुनार, बलराम चालिसे र प्रेमप्रसाद श्रेष्ठलगायतले कानुनअनुसार प्रमाणमा आधारित भएर भ्रष्टाचारको विरोध गर्न सूचनाको हक प्रयोग गरिने प्रतिबद्धता जनाए । यो अभियानलाई टोलटोलका नागरिक तहसम्म विस्तार गरिने भनाइ पनि उनीहरुले राखेका थिए । 


Author

थप समाचार
x