बागमती

भाउजुको हत्या गरेको अभियोगमा ज्वाई पक्राउ

इकागज |
असोज २८, २०८१ सोमबार ८:१४ बजे

चितवन- भाउजु हत्या गरेको अभियोगमा ज्वाई (नन्दको श्रीमान)लाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नम्बर ७ की ७१ बर्षिया बिष्णुमाया रानाभाटको हत्या गरेको अभियोगमा स्थानीय ६२ बर्षिय टिकाराम रानाभाटलाई प्रहरीले पक्राउ गरी आज साँझ सार्वजनिक गरेको हो । 

रानाभाटले भाउजुको हत्या गरी भिरबाट फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए ।


उनका अनुसार असोज १९ गतेदेखि घरबाट हराइरहेकी बिष्णुमायाको शव असोज २१ गते घर नजिकै रहेको सामुदायिक वनको भिरमा भेटिएको थियो ।

घटना शङ्कास्पद भएपछि अनुन्धानका क्रममा पक्राउ परेका टीकारामले प्रहरीसमक्ष  हत्या गरेको स्वीकार गरेको उनले जानकारी दिए । टीकारामलाई प्रहरीले असोज २३ गते पक्राउ गरेको थियो ।

प्रहरीले घटनामा प्रयोग भएको खुर्पा एक थान, मृतकको सुनको गहना ठूलो रिंङ दुई थान, सानो रिङ पाँच थान, हत्याको समयमा प्रयोग गरिएका कपडाहरु बरामत गरेको छ । रिजालका अनुसार टीकारामलाई चितवन जिल्ला अदालतबाट समय थप गरी अनुसनधान सुरु गरिएको छ । 


Author

थप समाचार
x