Ekagaj Logo
०१ कात्तिक २०८१, बिहीबार
(Thursday, 17 October, 2024)

बागमती

सिन्धुपाल्चोकमा टुङ्ना बजाउने वीरबहादुरको जापानमा एकल टुङ्ना साँझ हुँदै

निरोज चौलागाईं |
कात्तिक १, २०८१ बिहीबार ८:८ बजे

सिन्धुपाल्चोक- भोटेकोसी गाउँपालिका- १ का वीरबहादुर विकले जापानमा हुन लागेको एकल टुङ्ना साँझमा प्रस्तुति दिने भएका छन् । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-१ काङ्लाङमा जन्मिएका विक टुङ्ना बजाएर प्रख्यात भएसँगै उनले जिल्ला र जिल्ला बाहिरको कार्यक्रममा गएर टुङ्नाको धुनमा गीतसमेत गाउने गरेका थिए । 

अक्टोबर १७ अर्थात कार्तिक १ गते उनलाई चौतारो रेस्टुरेन्ट कामताले आयोजना गर्न लागेको टुङनाको एकल साँझ लाईभ कार्यक्रम गर्न लागेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताए । 


ग्लोबल फोरम जापानको आयोजनामा हुन लागेको विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आउँदो कार्तिक ४ मा  जापानको रोयल गार्डेन सिनओकुबमा हुने कार्यक्रमको लागि ग्लोबल फोरम जापानले निमन्त्रणा गरेको हो । शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा उनको प्रस्तुति राखिएको छ ।

उनको प्रस्तुतिको लागि विकलाई निम्तो गरिएको आयोजक संस्था ग्लोबल फोरम जापानले जनाएको छ। सो कार्यक्रमको लागि विक मंगलबार साँझ भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा र कार्य पालिका सदस्य बच्चु घतानीको साथमा जापान उडेका छन् ।

उनले जापानको दुई साँस्कृतिक कार्यक्रममा  सहभागी हुनेछन् भने जापानको विभिन्न शहरमा भिजिट गराउने आयोजक संस्था ग्लोबल फोरमले बताएको छ । 

भोटेकोसी-१ काङ्लाङमा विपन्न परिवारमा जन्मिएका विकले पछिल्लो समय लोप हुँदै गएको टुङनाको धुनलाई कार्यक्रममार्फत प्रस्तुत गर्दै आएका थिए । गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले उनको आर्थिक अवस्थालाई मध्यनजर गर्दै सहयोग गर्दै आएका छन् भने कतिपय स्थानीयले समेत उनलाई सहयोग गर्ने गरेको छन् । 

आर्थिक अवस्था कमजोर र आँखाको दृष्टि कमजोर भएका उनी आफ्नो परिवारको सहारामा विभिन्न ठाउँमा कार्यक्रमका लागि पुग्ने गरेका छन् । विकलाई २०७४ को स्थानीय निर्वाचनपछि भोटेकोसी गाउँपालिकाका तत्कालीन अध्यक्ष राजकुमार पौडेलले पालिकाबाट र ब्यक्तिगत रुपले आर्थिक सहयोग गर्दै आएका थिए । उनलाई स्थानीय तहमा निर्वाचित भएपछि पालिका अध्यक्षहरूले सहयोग गर्ने गरेका छन् ।

उनले पहिलो पटक विदेश यात्रामा रहेर टुङ्‌नाको धुन  र गीत गाएर दर्शकलाई मनोरञ्‍जन दिने छ्न् । सो साँस्कृतिक कार्यक्रममा जापानको लागि  नेपाली राजदूत दुर्गाबहादुर सुवेदीको प्रमुख अतिथ्यमा हुने आयोजक संस्था ग्लोबल फोरमले जनाएको छ । कार्यक्रमको स्पोन्सर प्रदिप कुमार थापाले गरेका हुन् ।


Author

थप समाचार
x