बागमती

बागमतीका प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण, एक पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता

इकागज |
कात्तिक १, २०८१ बिहीबार १९:३६ बजे

हेटौंडा - बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दुई वटा विधेयक प्रमाणीकरण गर्दै एउटा विधेयक पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाएका छन् ।

प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको असोज ७ गते बसेको बैठकले पारित गरेका दुई वटा विधेयक प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश हस्तकला स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार प्रमाणीकरण गरेका हुन् । 


त्यस्तै उनले संविधानको धारा १०१ को उपधारा ३ अनुसार ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाएका छन् । यस विधेयक प्रमाणीकरणका लागि प्रदेशसभाको अघिल्लो बैठकले सर्वसम्मत रुपमा पास गर्दै प्रदेश प्रमुख समक्ष पठाएको थियो ।

प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाका सभामुखलाई सम्बोधन गरी उक्त विधेयक फिर्ता गरेका हुन् । फिर्ता गरिएको विधेयक सभामा छलफल गरी शंसोधनसहित पारित भइ पुनः प्रमाणीकरणको लागि पठाउनु पर्ने संवैधानिक व्यवस्था छ ।

त्यसैगरी प्रमाणीकरण भएको विधेयक प्रदेश राजपत्रमा प्रकाशित भएपछि ऐनको रुपमा लागू हुनेछ ।
 


Author

थप समाचार
x