बागमती

१६ कैदीबन्दी स्थानान्तरण

इकागज |
कात्तिक ५, २०८१ सोमबार १४:११ बजे

सांकेतिक तस्बिर

चितवन- चितवन कारागारमा रहेका कैदीबन्दीमध्ये १६ जनालाई स्थानान्तरण गरिएको छ । कागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो ।

कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार स्थानान्तरण गरिएकामध्ये आठ जनालाई रसुवा, सात जनालाई काठमाडौँ र एक जनालाई तनहुँ स्थानान्तरण गरिएको छ । उनीहरुमध्ये ६ जनाको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ  तथा अन्यलाई उनीहरुको इच्छाअनुसार स्थानान्तरण गरिएको उनले बताए ।


यहाँ सङ्घीय भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र अन्य साना अस्पतालमा विशेषज्ञ सेवासहितको सुविधा पाउने भएकाले जिल्लास्थित कारागारमा अन्य जिल्लाबाट कैदीबन्दी यहाँ ल्याउँदा चाप बढेको हो ।

२८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ८४ कैदीबन्दी रहेका छन् । यस्तै २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४५, उनीहरुसँग आश्रित तीन बालबालिका र दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा सात सय ३३ जना रहेका छन् । 

“नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा कारागार नहुँदा त्यहाँबाट समेत कैदीबन्दी यहाँ ल्याइने हुँदा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता छ”, सूचना अधिकारी ढुङ्गानाले भने । रासस


Author

थप समाचार
x