बागमती

बागमती सरकारलाई सघाउन कांग्रेस र एमालेको संयन्त्र

इकागज |
कात्तिक २५, २०८१ आइतबार २०:४७ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्र गठन भएको छ ।

संयन्त्रमा दुई दलका तीन–तीन नेता रहेको संयन्त्रका सदस्य एवं एमाले बागमती प्रदेशका इन्चार्ज डा राजन भट्टराईले जानकारी दिए । उनले आज नै संयन्त्र निर्माण गरी बैठक बसेको बताए । इन्चार्ज भट्टराईका अनुसार कांग्रेसका तर्फबाट कांग्रेस बागमती प्रदेश कार्यसमिति सभापति इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह तामाङ र पार्टीका बागमती प्रदेश उपसभापति चन्द्र महर्जन तथा एमालेका तर्फबाट बागमती प्रदेश इन्चार्ज डा भट्टराई, बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल र बागमती प्रदेशमा एमाले संसदीय दलको नेता जगन्नाथ थपलिया रहेका छन् ।


बैठकले बागमती प्रदेशका १३ वटै जिल्लामा दुवै दलका जिल्ला तहसँग समन्वय गरी यथाशीघ्र संयन्त्र निर्माण गर्न निर्देशन दिएको डा भट्टराईले जानकारी दिए । बैठकले संयन्त्रको बैठकको दुई दलले एक—एक महिना पालैपालो संयोजन गर्ने र मङ्सिर मसान्तसम्मको बैठकको संयोजन कांग्रेसले गर्ने सहमति भएको छ ।

यस्तै, संयन्त्रको सचिवालयमा नेपाली कांग्रेस र एमालेका तर्फबाट एक—एकजना रहने, संयन्त्रको बैठक महिनाको कम्तीमा एकपटक अनिवार्य बस्ने र आवश्यकताअनुसार थप बैठक बस्न सक्ने निर्णय गरेको छ । दलीय संयन्त्र र बागमती प्रदेश सरकारका मन्त्रीको संयुक्त बैठक आगामी मङ्सिर ३ गते बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालय हेटौँडामा बसी बागमती प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धि र आगामी कार्यक्रमका बारेमा जानकारी लिने समेत निर्णय भएको इन्चार्ज डा भट्टराईले बताए । केन्द्रमा पनि दुई दलबीच सरकार सञ्चालन गर्नका लागि चार–चारजना रहेको संयन्त्र निर्माण गरिएको छ । 


Author

थप समाचार
x