बागमती

चाँगुनारायण मन्दिरमा एकैदिन ५० हजारभन्दा बढी भक्तजनले गरे दर्शन

इकागज |
कात्तिक २८, २०८१ बुधबार ८:५६ बजे

भक्तपुर- चाँगुनारायण नगरपालिका–४ स्थित ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व रहेको चाँगुनारायण मन्दिरमा मंगलबार एकैदिन ५० हजारभन्दा बढी दर्शनार्थीले पूजा एवं दर्शन गरेका छन् । 

विश्वसम्पदा सूचीमा सूचीकृत यस मन्दिरमा मंगलबार हरिबोधिनी एकादशीको दिन चाँगुनारायण मन्दिरमा बिहान ३ बजेदेखि नै दर्शनार्थीको ठूलो घुइँचो लागेको नगर प्रमुख जीवन खत्रीले जानकारी दिए । 


मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बिहान तीन बजेदेखि नै मन्दिर खुला भएको र दर्शनार्थीको आगमन भएको बताउँदै मंगलबार रातिसम्ममा ५० हजारभन्दा बढी दर्शनार्थीले एकै दिन दर्शन गरेको जानकारी दिए ।  चारनारायणमध्येको जेठो नायायण एवं एउटै मूर्तिमा चार नारायणको स्वरुपको रुपमा पुजिँदै आइएको छ । 

मंगलबारका दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, ईचंकुनारायण र ललितपुरको विशंखुनारायणको दर्शन गर्ने गर्दछन् । 

मंगलबार चार नारायणको दर्शन गर्दा जेठो नारायणका रुपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने र चार नारायणको दर्शन गर्न नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गरेपनि चार नारायणको दर्शन गरे बराबरको पुण्य प्राप्त हुने मान्यता छ । 

आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवाण विष्णु मंगलबारै जागा हुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रुपमा विशेष पूजा अर्चना गरेर मनाइन्छ । रासस


Author

थप समाचार
x