पाँचपोखरीमा बृहत् स्वास्थ शिविर, पाँच हजार बढी लाभान्वित
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको भोटेनाम्लाङ र थाङ्पालथापमा दुई दिनसम्म चलेको बृहत् स्वास्थ्य शिविरबाट पाँच हजारभन्दा धेरैले सेवा लिएका छन् ।
सिन्धुपाल्चोकको दुर्गम गाउँपालिका मध्येमा पर्ने पाँचपोखरीमा विशेषज्ञ चिकित्सकसहित जिल्ला जनस्वास्थ्य कार्यालय, चौतारा अस्पताल तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वयमा आयोजित शिविरमा सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख, स्त्री तथा प्रसूति,स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा प्रदान गरिएको थियो ।
शिविरबाट विभिन्न समस्या भएकाहरुले ५ हजार ३५१ जनाले सेवा लिएको चौतारा अस्पतालका सुचना अधिकारी डा. अमरदिप शाहले बताए ।
भौगोलिक विकटता र आर्थिक अभावका कारण सहर बजारका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन नसकेका नागरिकहरुको सुविधाका लागि शिविरले फाइदा पुर्याएको गाउँपालिकाका प्रबक्ता नारायण भट्टराईले बताए । ग्रामिण भेग र आर्थिक अभावका कारण अस्पताल जान नसकेका विरामीले शिविरको प्रत्यक्ष लाभ लिएको गाउँपालिकाले जनाएको छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले प्रदेश भित्रका विकट र दुर्गम स्थानहरुमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्न मन्त्रालय लागी परेको बताए । प्रदेश सरकारले सुगममा मात्र नभएर दुर्गममा पनि स्वास्थ्य सेवाको पहुँचमा सबै नागरिकलाई पुर्याउने उद्धेश्यले विभिन्न माध्यमबाट सेवा प्रदान गर्दै आएको बताए ।
त्यस्तै बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ (समिर)ले आफुमा भएको रोग तथा समस्याका बारेमा निर्धक्क भएर डाक्टरहरु माझ राख्न स्थानियलाई आग्रह गरे ।
गाउँपालिका अध्यक्ष टासी लामाले पालिकाको ८ वटै वडामा बर्थिङ सेन्टर सञ्चालन गरेर सेवा दिइरहेको उल्लेख गर्दै आवश्यक डाक्टर तथा स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराए । गाउँपालिकाकै वडा नम्बर ७ तिपेनीमा रहेको अस्पताल बाढीको उच्च जोखिममा रहेको भन्दै त्यसको संरक्षणका लागी अध्यक्ष लामाले मन्त्री तथा प्रदेश सांसदहरुको ध्यानाकर्षण गराए ।
एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत सेवा प्रवाह गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले बताइन् ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखाका प्रमुख डाक्टर खगेश्वर गेलालले शिविरमा उपलब्ध सेवाको बारेमा जानकारी दिँदै बागमती प्रदेश भित्र एउटा मात्र रहेको अल्ट्रा प्रोटेबल एक्स रे मेसिनबाट समेत सेवा दिइएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया