पूर्व वडाअध्यक्षकै नेतृत्वमा निर्माणाधीन वडा कार्यालय भवन तोडफोड
काठमाडौँ - ईन्द्रावती गाउँपालिका वडा नम्बर ३ को निर्माणाधीन वडा कार्यालय भवनमा तोडफोड भएको छ । तोडफोडमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्व वडाअध्यक्ष देवप्रसाद बानियाँको नेतृत्वमा आज (शनिबार) ३ बजेर २० मिनेटमा ईन्द्रावती ३ मा बन्दै गरेको वडा कार्यालयको ३ वटा पिलर ग्रेन्डर मेसिनको प्रयोग गरी काटिएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख जय नेपाल थापाले जानकारी दिए ।
आज वडा कार्यालय बन्द रहेको समय पारी सो समूहले तोडफोड गरेको हो । तीन फरक राजनीतिक दलका व्यक्तिहरुको तोडफोडमा संलग्नता रहेको वडा अध्यक्ष भिमसेन थापाले जानकारी दिए । २०८० साल असोज ६ गते वडाको संयोजनमा सर्वदलीय भेला गरी उपयुक्त स्थान छनौटको लागि ४५ दिनको समय दिइएको भएपनि सो समयमा स्थान नटुंगिएकोले गाँउ कार्यपालिकाको निर्णय अनुसार काम गरेको वडा अध्यक्ष थापाको भनाई छ ।
‘राजनीतिक प्रतिशोधका कारण तोडफोड गरिएको छ । सर्वदलीय निर्णय विपरीत गएर बन्दै गरेको भवनमा तोडफोड गरियो’, वडा अध्यक्ष थापाले भने ‘सर्वदलीय निर्णय सबैले पालना गर्नुपर्छ नत्र विकल्प दिनुपर्छ’ । निर्माणाधीन वडा कार्यालय तोडफोड गर्नेहरूको सिसि क्यामेराबाट पहिचान गरिएको थियो । तोडफोड गर्नेहरूलाई सार्वजनिक मुद्दा चलाइने वडा अध्यक्ष थापाको भनाई छ ।
निर्माणाधीन वडा कार्यालय तोडफोड ग्रेनहरूमा पूर्व वडा अध्यक्ष देव प्रसाद बानियाँ, तेज बानियाँ, भिम बहादुर बानियाँ, राजकुमार बानियाँ र सुब्बा बानियाँलाई प्रहरीले पक्राउ गरेको हो । तोडफोडमा संलग्न भूपेन्द्र बानियाँ र ङ बहादुर थापा (भरत) फरार रहेको प्रहरीले जनाएको छ । वडा कार्यालयको नवनिर्मित भवन १ करोड २१ लाखमा ठेक्का सम्झौता भएर काम सुरु भएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया