बागमती

प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश

इकागज |
पुस २०, २०८१ शनिबार ८:४१ बजे

फाइल तस्बिर

मकवानपुर- बागमती प्रदेश सरकारले आफ्नो सीमा प्रवेश गर्ने नाकामा अत्याधुनिक ‘चेकपोस्ट’ निर्माण गर्ने भएको छ । पहिलो चरणमा मधेस प्रदेशसँग सीमा जोडिएको मुख्य प्रवेशविन्दु पूर्वपश्चिम राजमार्गको रातोमाटेमा ‘चेकपोस्ट’ निर्माण गरेका हुन् ।

शुक्रबार हेटौँडा–१४ स्थित रातोमाटेमा मुख्यमन्त्री बहादुरसिंह लामा, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, मन्त्रालयका सचिव पूर्णबहादुर दर्जी, सुरक्षाप्रमुखहरूले ‘चेकपोस्ट’ निर्माणस्थलको अनुगमन गरेका छन् । मुख्यमन्त्री लामाले स्थानीय तहसँग समन्वय गरेर ‘चेकपोस्ट’ निर्माण गरिने जानकारी दिए ।


पूर्वपश्चिम राजमार्गको प्रवेशविन्दु भएका कारण पनि रातोमाटे नाका बढी संवेदनशील रहेका कारण पहिलो चरणमा रातोमाटेमा अत्याधुनिक ‘चेकपोस्ट’ निर्माण गर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

दोस्रोचरणमा चितवनको मुग्लिनमा, तेस्रोचरणमा सिन्धुलीको नागथान, रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको कोदारी र दोलखाको लामाबगरमा ‘चेकपोस्ट’ निर्माण गर्न लागेको बताइएको छ । ‘चेकपोस्ट’मा सवारीसाधानको चेकिङका लागि अत्याधुनिक मेसिनसहित सीसीक्यामेरा र सुरक्षाकर्मी परिचालन गर्ने योजना प्रदेश सरकारको छ ।

“बागमती प्रदेशको प्रवेशविन्दुमा हामीले ‘चेकपोस्ट’ निर्माण गर्न लागेका हौँ । यसबाट आन्तरिक सुरक्षा अवस्था थप बलियो हुने अपेक्षा हामीले लिएका छौँ”, मुख्यमन्त्री लामाले भने ।


Author

थप समाचार
x