बागमती

बागमती सफाइ अभियानमा महानगरले सघाउने

इकागज |
पुस २४, २०८१ बुधबार २०:१६ बजे

फाइल फाेटाे

काठमाडौं - काठमाडौँ महानगरपालिकाका १० वटा वडाले बागमती सफाइ अभियानलाई सहयोग गर्ने सहमति जनाएका छन् । काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारको अध्यक्षतामा आज बसेको बैठकले आगामी दिनमा वडाको समन्वयमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अगुवाइमा प्रत्येक शनिबार हुँदै आएको  सफाइ अभियानमा अबदेखि महानगरपालिकाका तत् तत् क्षेत्रका वडाध्यक्षसहितका जनप्रतिनिधिको सहभागिता रहने सहमति भएको अभियन्ता रामशरण कार्कीले जानकारी दिए । 


बैठकले आगामी साताको सरसफाइ वडा नं– ८ का वडाध्यक्षको संयोजनमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । काठमाडौँ महानगरपालिकाका विभिन्न १० वटा वडा भएर बागमती बगेकोमा त्यसमध्ये आजको बैठकमा ७ , ८, ९, १० ,११ , १२ र १४ का वडाअध्यक्षले सहमति जनाएको हो । बैठकले आगामी दिनमा फोहर वर्गीकरण, व्यवस्थापन तथा पुनः प्रयोग गर्न प्रोत्साहन गर्ने तथा हेलचेक्रयाइ गर्नेलाई जरिवानासमेत गर्ने निर्णय गरेको छ । 

बागमती सफाइ अभियानका प्रमुख अभियन्ता लीलामणि पौड्यालको उपस्थितिमा बसेको बैठकले अधिकार सम्पन्न बागमती समितिले परियोजना कार्यान्वयनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्ने निर्णय गरेको छ । विस २०७० जेठ ५ गतेबाट सुरु अभियानका क्रममा हालसम्म  २० हजार टन बढी फोहर संकलन भइसकेको जनाइएको छ ।
 
सफाइ अभियानमा विभिन्न संघ, संस्था, नागरिक समाज, अधिकारकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी  बल, नेपाल रेडक्रस, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति संलग्न हुँदै आएका छन् ।
 


Author

थप समाचार
x