बागमती

चोरी भएका मूर्ति भेटियो

इकागज |
साउन २०, २०७८ बुधबार १३:४४ बजे

हेटौँडा- मकवानपुरको थाहा नगरपालिकास्थित-६ बज्रबाराहीबाट गएराति बाराहीलगायत विभिन्न १३ देवीदेवताका मूर्ति चोरी भएको छ । चोरी भएका मूर्ति प्रहरी र स्थानीयवासीको सक्रियतामा थाहा नगरपालिका-१० नौखण्डे चोकमा फेला परेको छ ।

थाहा नगरपालिका- ६ स्थित धामी सुनिलकुमार महर्जनको घरमा राखिएका मूर्ति  गएराति २ बजेतिर चोरी भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए । मूर्ति चोरी भएको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय पालुङ र चित्लाङबाट प्रहरी  परिचालन गरिएको थियो । खोजी गर्ने क्रममा चोरी भएका मूर्ति थाहा नगरपालिका १० नौखण्डे चोकमा कालो झोलामा पोका पारेको अवस्थामा फेला परेको पालुङ प्रहरीले जनाएको छ ।


चोरी भई फेला परेका मूर्ति धामी सुनिलकुमार महर्जनलाई नै जिम्मा लगाइएको छ । चोरी भएका मूर्तिमा बाराही, गणेश, कुमारी, इन्द्रायणी, भैरव, ख्याग, बेतालगायतका छन् । दुईवटा ढकीमा कपडाले पोको पारेर राखिएका मूर्ति तीन जनाले धामीकी श्रीमती कान्छी महर्जनको आँखामा खुर्सानीको धुलो छ्यापेर चोरी गरी भागेका थिए । ती मूर्ति तीन वर्षे जात्रामा धामीको घरबाट विधिवत् रुपमा मन्दिरमा लगेर पूजा गरिन्छ । करीब ७० वर्ष अगाडि प्राचीन मूर्ति चोरी भएपछि हालका मूर्ति ल्याइएको थियो । रासस


Author

थप समाचार
x