अक्सिजन अभाव हुने चिन्ता
फाइल तस्बिर
चितवन- जिल्लामा कोरोना सङ्क्रमित बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव हुनसक्ने देखिएको छ । अस्पतालमा आउने बिरामी र क्षमताका आधारमा अक्सिजन अभाव हुने देखिएको हो ।
अहिलेकै तुलनामा कोरोना सङ्क्रमित बढ्दै गएमा अस्पतालमा रहेका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले अपुग हुने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अहिले यहाँका अस्पतालमा २५२ सङ्क्रमित उपचाररत छन् ।
भरतपुर अस्पतालमा ७५ सिलिण्डर, चितवन मेडिकल कलेजमा १०० सिलिण्डर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २० सिलिण्डर दैनिक उत्पादन हुने क्षमताका अक्सिजन प्लान्ट रहेका छन् ।
यस्तै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा भने ३५० शय्यामा पाइपलाइनबाट ग्यास पुर्याइएको छ । सो कलेजको आफ्नै अक्सिजन प्लान्ट गैँडाकोटमा रहेको छ ।
अस्पतालका अतिरिक्त भरतपुरको रामनगरमा स्वर्गद्वारी अक्सिजन उद्योगले दैनिक ३६० सिलिन्डर ग्यास उत्पादन गर्दै आएको छ । त्यहाँ उत्पादित ग्यास जिल्लामा रहेका दुई मेडिकल कलेज र अन्य निजी अस्पतालमा खपत हुँदै आएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका ठूला चार अस्पतालमा ६९२ शय्या कोभिडका लागि छुट्याइएको छ । तीमध्ये सघन उपचार कक्ष २८०, भेन्टिलेटर ६८ र एचडियु १५३ वटा रहेका छन् । यी कक्षअनुसारको बिरामी बढ्दै गएमा यहाँका अस्पतालमा अक्सिजनको अभाव हुने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारी बताउँछन् ।
पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालमा ५० सिलिण्डर भर्ने क्षमताको ग्यास प्लान्ट जोड्ने काम भइरहेको छ । ग्यास प्लान्ट जडान हुन अब केही दिन लाग्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले जानकारी दिए । उनका अनुसार ग्यास प्लान्ट जडानको काम भए पनि सिलिण्डरमा ग्यास भर्ने बुष्टरको अभावका कारण काम हुन नसकेको उनले बताए । बुष्टरको खोजी भइरहेको उनको भनाइ छ ।
प्रदेश सरकारले पठाएको सो प्लान्ट उपलब्ध गराउने कम्पनीसँग समेत बुष्टर नभएको जानकारी आएको उनले बताए । भरतपुरको मुटु अस्पताल, सेन्ट्रल अस्पताल, मौलाकालिका अस्पताल, भरतपुर सामुदायिक, नेसनल सिटी अस्पताल, पुष्पाञ्जलि अस्पताल र नारायणी सामुदायिक अस्पतालमा कोरोना सङ्क्रमितको उपचार हुँदै आएको छ ।
ती अस्पतालमा आफ्नै प्लान्ट नभए पनि जिल्लामा रहेका अक्सिजन उद्योग र बाहिरी जिल्लाबाट समेत ल्याएर उपलब्ध गराउने गरेको निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले जानकारी दिए ।
यस्तै माडीमा रहेको बघौडा अस्पतालमा अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भए पनि प्लान्ट भने छैन । अक्सिजन भर्नका लागि भरतपुर ल्याउनुपर्ने बाध्यता रहेको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले अहिलेकै तुलनामा बिरामीको सङ्ख्या बढ्दै गए यहाँ रहेका प्लान्टबाट उत्पादित ग्यास अपुग हुने बताउनुभयो । यसको व्यवस्थापनका लागि भरतपुर अस्पतालले अहिलेको भन्दा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरिरहेको छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट जडानको काम भइरहेको छ भने गैँडाकोटमा रहेको सिद्धिविनायक अक्सिजन उद्योगले समेत बिरामीको चापअनुसारको क्षमता बढाउने काम गरेकाले केही हदसम्म सहज हुने अनुमान गरिएको उनले बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया