बागमती

चोरीमा संलग्‍न चार पक्राउ

इकागज |
भदौ १९, २०७८ शनिबार ९:५१ बजे

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्‍न घटनामा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । मोटरसाइकल र मोबाइल पसलबाट सामान चोरी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।
 
चोरीका पाँच थान मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-२१ पार्वतीपुर बस्ने ३१ वर्षीय रोदित श्रेष्ठ र श्रेष्ठको मोटरसाइकल वर्कशपमा काम गर्ने कलैया उपमानगरपालिका-६ का ३५ वर्षीय कृष्ण साह रहेका छन् ।
 
कार्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीका अनुसार बुलेट मोटरसाइकल दुई थान, पल्सर २२० सिसिको दुई थान, पल्सर एनएस एक थान बरामद गरिएको हो । 

यस्तै दुई थान मोटरसाइकलको भाइजर, मोटरसाइकल चोरी तथा खोल्न प्रयोग गरिने विभिन्‍न सामग्री मोटरसाइकलका विभिन्‍न किसिमका पाटपुर्जा, पुराना सामान झिकिएका मोटरसाइकल, सवारी दर्ता प्रमाणपत्र ४५ थान र विभिन्‍न जिल्लाका नागरिकता प्रमाणपत्रको खाली कार्ड १८ थान बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।


चोरीका मोटरसाइकलमध्ये चार वटा काठमाडौँका विभिन्‍न ठाउँबाट हराएको अनुसन्धानबाट खुल्न आएको अधिकारीले बताए । निज श्रेष्ठ यसअघि पनि यही अभियोगमा पक्राउ परेका थिए । उनीहरुलाई मुलुकी अपराध संहित २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिम तीन वर्ष कैद र रु ३० हजार जरिवाना हुने उनले जानकारी दिए । उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको अधिकारीले बताए ।
 
चोरीका मोबाइलसहित दुई जना पक्राउ
पूर्वी चितवनको रत्ननगरमा रहेको ए टु जेड मोबाइल पसलमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका-४ घर भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका-१ ज्यामिरे बस्ने २२ वर्षीय कृष्ण तामाङ र १६ वर्षीय युवक रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उनीहरुले भदौ १२ गते मोबाइल पसलमा चोरी गरी १९ थान मोबाइल, डमी मोबाइल १२ थान, ल्यापटप एक थान र घडी चार थान चोरी गरेका थिए । पक्राउ परेका उनीहरुको साथबाट डमी मोबाइलबाहेक अन्य सबै सामान सुरक्षित बरामद गरिएको अधिकारीले जानकारी दिए । उनीहरुलाई मुलुकी अपराध संहित २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिक तीन वर्ष कैद र रु ३० हजार जरिवाना दाबी गिएको उनले जानकारी दिए । उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । रासस


Author

थप समाचार
x