चार राजनीति दल र ६ वडाध्यक्षले गरे नगरपालिकाको कार्यक्रम बहिष्कार
काठमाडौँ - टोखा नगरपालिकाले आज आयोजना गरेको नगर स्मारिका विमोचन, सम्मान एवं सार्वजनिक सुनुवाइ कार्यक्रमलाई चार राजनीति दल र ६ वडाध्यक्षले बहिष्कार गरेका छन् ।
विधि र पद्दति मिचेर कार्यपालिका बैठकमा बहुमत वडाध्यक्षलाई जानकारी नै नगराई बैठक आव्हान गरेको भन्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र विवेकशील साझा पार्टीले कार्यक्रम बहिष्कार गरेको नेकपा (एकीकृत समाजवादी) टोखा नगर समितिका अध्यक्ष एवं टोखा वडा नं ९ का वडाध्यक्ष जोगप्रसाद नेपालले जानकारी दिए ।
'राजनीतिक पूर्वाग्रहका आधारमा नगरभित्रका राजनीतिक दललाई निषेध गरेर कार्यक्रम तय गरेकाले हामीले कार्यक्रम बहिष्कार गरेका हौँ', उनले भने ।
नेपाली कांग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले आगामी निर्वाचनलाई प्रभावित गर्ने मनसायले कार्यक्रम राखिएकाले आफूहरूले उक्त कार्यक्रम बहिष्कार गरेको बताए ।
'नगरको कोषलाई मनपरी ढङ्गले भोजभतेरमा खर्च गरिएकाले हामी कार्यक्रममा सहभागी नभएका हौँ', उनले भने । कूल ११ वडा रहेको टोखामा छलफलविना नै कार्यक्रम आयोजना गरिएको भन्दै ६ वडाध्यक्षले कार्यक्रम बहिष्कार गरेका छन् । कार्यक्रम बहिष्कार गर्नेमा वडा नं २ का वडाध्यक्ष दीपकराज जोशी, वडा नं ३ का सिंहराज श्रेष्ठ, वडा नं ६ का महेश्वर केसी, वडा नं ८ का केशवबहादुर खत्री, वडा नं ९ का जोगप्रसाद नेपाल र वडा नं ११ का वडाध्यक्ष उत्तम अधिकारी रहेका छन् ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सबैको सल्लाह र छलफलमा कार्यक्रम तय गरेको बताए । विभिन्न राजनीतिक दलले बैठक बहिष्कार गरेर टोखाको विकासमा अवरोध गर्न खोजेको उनको भनाइ थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया