बागमती

संघीयतालाई थप सुदृढ बनाउन प्रदेश प्रमुख शर्माको आग्रह

इकागज |
माघ १८, २०७८ मंगलबार १५:४८ बजे

मकवानपुर- बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाले संघीयतालाई थप सुदृढ बनाउँदै आम नागरिकमा यसको औचित्य, सान्दर्भिकता र गरिमालाई बढाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । 

बागमती प्रदेश सभाको चौथो वार्षिकउत्सवलाई आज सम्बोधन गर्दै उनले २०७४ साल माघ १८ गते प्रदेश सभाको पहिलो अधिवेशन बसेदेखि आजसम्म प्रदेशसभाबाट ६१ वटा विधेयक पारित हुनुका साथै महत्वपूर्ण निर्णय भएको बताएका हुन् । 


उनले प्रदेशको सामान्य प्रशासन, सुशासन र शान्ति सुरक्षालाई व्यवस्थित एवं विश्वासनीय बनाउने जनशक्तिलाई दृढ तथा सशक्त गराउन आवश्यक आधार तयार गर्ने जिम्मेवारी पनि यही प्रदेश सभाको नै भएको बताए । यसबाट मात्र नेपाली जनताले चाहेको संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण, न्याय, समानता र मानव अधिकारको सुदृढिकरण हुने उहाँले विश्वास व्यक्त गरे । 

प्रदेशसभाले आगामी दिनमा पनि आफ्नो कार्य प्रणालीलाई व्यवस्थित गरी प्रदेशका महत्वपूर्ण विषयमा विधि निर्माण गरी प्रदेशको समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गरे । उनले प्रदेशस्तरका जनताको जनजीविकाको सवाललाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सरकारले नियमित छलफल गरी समुचित योजना तर्जुमा गर्नु अत्यावश्क रहेको बताए । 

उनले प्रदेश सरकारप्रति जनताको आकांक्षा र भरोसामा कुनै किसिमको कमी आउन दिन नहुने बताउनुहुँदै यस प्रकारका आकांक्षा र विश्वासलाई व्यवहारमा मूर्त रुप दिनको लागि प्रदेश सरकारका नीति, कार्यक्रम बजेट लगायतका विषयमा जनताको हित र न्यायका पक्षमा केन्द्रित रहन प्रदेशसभा सधैँ सचेत र क्रियाशील हुन आवश्यक भएको उल्लेख गरे । रासस


Author

थप समाचार
x