बागमती

काठमाडौं महानगरले भन्यो : खाना घरमा लगेर खुवाउनू, सडकमा पाइन्न

इकागज |
कात्तिक १७, २०७७ सोमबार १७:५७ बजे

काठमाडौं : काठमाडौं महानगरपालिकाले सडकमा खाना खुवाउने अभियानलाई रोक्न आदेश दिएको छ । काठमाडौं नगर प्रहरीले खाना खुवाउँदै आएका अभियन्तालाई फोन गरेर अबदेखि खाना नखुवाउन भनेको अभियन्ता दिपेश धुन्जुले बताए । 

नगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटाले फोन गरेर ‘माथिबाट आदेश आएकोले सडकमा खाना नखुवाउनु’ भनेर आदेश दिएको उनले बताए । खाना नखुवाउन आदेश दिएको भन्ने खबर सुनेपछि अर्का अभियान्ता बिमल पन्तले नगरपालिकाका एक कर्मचारीलाई फोन गरेका थिए । ति कर्मचारीले पनि ‘सडकमा खाना खुवाउँदा सरकारको बेइज्जत भयो’ भन्दै बिमलको टोलीलाई भोलि (मंगलबार)बाट सडकमा खाना नखुवाउन आदेश दिए । 


‘ति कर्मचारीले सडकमा भोलिबाट खाना नखुवाउनु, खुवाउनुपरे आफ्नो घरमा लगेर खुवाउनु भन्नुभएको छ,’ बिमलले भने, ‘हामीले खाना रोके मानिसहरु भोको पर्छन् । त्यसैले हामी भोलि पनि त्यहीँ खाना लिएर जान्छौँ, खुवाउँछौँ । जसलाई समस्या हुन्छ, उसले प्रधानमन्त्री कार्यालयमा लगेर हुन्छ कि, पार्टी प्यालेसमा राखेर हुन्छ, उनीहरुलाई खाना त खुवाउन पर्यो ।’

चैत्र १४बाट हन्ड्रेड गु्रपले सुरु खाना वितरण सुरु गरेको थियो । महालक्ष्मीथान, पशुपति, खुल्लामञ्च लगायत झन्डै दर्जन मठमन्दिरमा उनीहरुले निःशुल्क खाना खुवाइरहेका छन् । अहिले दैनिक रुपमा लगभग हजार जनाले उनीहरुले वितरण गरेको खाना खान्छन् । आठ महीनादेखि उनीहरुले निरन्तर खाना खुवाइरहेका छन् । अहिले एकाएक खाना नखुवाउन आदेश दिएपछि भने उनीहरु पनि दुःखी छन् ।

‘सरकारको आदेशले हामी दुःखी छौँ किनकी हामीकहाँ खाना खान काखमा बच्चा बोकेर महीलाहरु आउनुहुन्छ । बालबालिका, विद्यार्थीहरु, मजदुरहरु, विद्यार्थीहरु आउनुहुन्छ,’ बिमल भन्छन्, ‘एकाएक खाना नखुवाउन निर्देशन दिएको सुनेपछि मुटु नै अमिलो भएको छ ।’


Author

थप समाचार
x