बागमती

कोरोना सङ्क्रमणमुक्त हुँदै काभ्रे

इकागज |
फागुन १५, २०७७ शनिवार ९:२८ बजे

काभ्रे : जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ झरेको छ । काभ्रेपलाञ्चोकको १३ मध्ये हाल दुई स्थानीयतहमा चार सङ्क्रमित छन् । एघार स्थानीय तह सङ्क्रमणमुक्त भइसकेका छन् । हाल बनेपा नगरमा एक महिला र एक पुरुष तथा धुलिखेलमा एक महिला र एक पुरुष सङ्क्रमित रहेको जिल्लास्थित कोभिड-१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार बिहीबार छ सङ्क्रमित रहेकोमा शुक्रबार दुई सङ्क्रमित डिस्चार्ज भएका हुन् । जिल्लामा तीन हजार ३५० जनालाई कोरोना भाइरस सङ्क्रमण भएका थिए । 

काभ्रेमा १४ महिलासहित ४५ को कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सङ्क्रमितमध्ये ९९ दशमलव ८९ प्रतिशत सङ्क्रमणमुक्त भइसकेको जनाइएको छ । आवश्यकतामा मात्रै परीक्षण हुने गरेकाले पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमणको लक्षण देखिएकाको मात्रै परीक्षण हुने पोष्टले जनाएको छ । चार सङ्क्रमित होम आइसोलेसनमा उपचाररत छन् । 


कोरोना सङ्क्रमणविरुद्ध कोरोना-खोप (कोभिसिल्ड)को पहिलो चरणअन्तर्गत काभ्रेपलाञ्चोकको छ हजार ७८९ ले लगाएका छन् । पहिलो प्राथमिकतामा परेका तीन हजार ४९४ र दोस्रो प्राथमिकताका तीन हजार २९५ लाई उक्त खोप लगाइएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिए । उनले काभ्रेपलाञ्चोकमा दोस्रो चरणको खोप कार्यक्रमका लागि तयारी भइरहेको बताए । 

खोप सेवा नमोबुद्ध नगरस्थित मेथिनकोट प्रादेशिक अस्पताल, धुलिखेल अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेलबाट उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । भारत सरकारले माघ पहिलोसाता नेपाल सरकारलाई ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो । चिकित्सकका अनुसार कोरोना सङ्क्रमणविरुद्धको खोप पूरा हुन एक व्यक्तिलाई दुई पटक लगाउनुपर्ने हुन्छ । रासस


Author

थप समाचार
x