चुरिया माईमा दक्षिण एशियाकै पहिलो सुरुङमार्ग परिकल्पनाकार बिग्रेडियर थापाको सालिक (फोटो फिचरसहित)
हेटौंडा : दक्षिण एशियाकै पहिलो सुरुङमार्गको निर्माणकर्ता नेपालको प्रथम ग्राजुएट सिभिल ईन्जिनियर ब्रिगेडिएर कर्णेल डिल्लीजंग थापाको अर्धकदको सालिक चुरिया माई मन्दिर परिसरमा राखिएको छ । हेटौंडा उपमहानगरपालिकाले सेनाका सिभिल ईन्जिनियर बिग्रेडियर कर्णेल थापाको अर्धकदको सालिक ४ लाखको लागतमा बनाएर मंगलबार चुरिया माई मन्दिर परिसरमा अनावरण गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सालिकको अनावरण गर्दै पुराना सम्पदाहरूको संरक्षण गनुपर्ने बताए । दक्षिण एशियाकै पूरानो चुरिया माई सुरुङमार्गको परिकल्पनाकार सेनाका बिग्रेडियर जनरल थापाको सालिक काठमाडौंबाट निर्माण गरेर ल्याइएको थियो ।
९ फिट चौंडाइ र १० फिट अग्लो भएको चुरिया माई सुरुङमार्गको लम्बाई ५ सय मिटर रहेको छ । सुरुङमार्गको दक्षिणी भाग राम्रै रहेको छ भने उत्तरी मुख भने हालको अवस्थामा पुरिएको छ । चुरिया माईको सुरुङ सन् १९१७मै बनेको थियो । जसका डिजाइनकर्ता सेनाका कर्णेल थापा हुन् । चुरियामाई मन्दिर र सुरुङ मर्मतको लागि हेटौंडा उपमहानगरपालिकाले पनि चासो देखाउँदै आएको छ ।
बागमती प्रदेश सरकारले जीर्ण अवस्थामा रहेको चुरिया माई सुरुङमार्गको संरक्षण गर्ने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले दक्षिण एशियाकै पुरानो सुरुङमार्गमा यातायात चल्ने गरी मर्मत गरिने बताए । बागमती प्रदेश सरकारले पुरातात्विक विभागसँग परामर्श गरेर पुनर्निर्माण कार्यको लागि बोलपत्र आह्वान गरिसकेको छ ।
प्रदेश सरकारले ४ करोड बजेट विनियोजन गरेर चुरीया माई सुरुङमार्गको पुनर्निमार्ण कार्य अगाडि बढाएको हो । एक सय वर्ष पुरानो सुरुङमार्गमा पुनः गाडी गुड्नेगरी पुनर्निर्माण गर्ने प्रदेश सरकारको योजना छ । पुरातात्विक सम्पदाको संरक्षण हुनेगरी काम गर्नुपर्ने भन्दै मन्त्री फुयाँलले भने, ‘अब नेपाल सुरुङ युगमा प्रवेश गरिसक्यो । सुरुङलाई मर्मत गरेर सञ्चालन ल्याउन प्रदेश सरकार कटिबद्ध छ ।’
हेटौंडाको चुरिया माईको सुरुङमार्गलाई प्रदेश सरकारले भौतिक पूर्वाधार अध्ययन अनुसन्धानको रूपमा विकास गर्न चाहेको बताएको छ । पूर्वाधारको निर्माण पूर्व यसको अध्ययन अनुसन्धान हुने मन्त्री फुयाँलले जानकारी दिए । मन्त्री फुयाँलले पुरातात्विक सम्पदाको संरक्षण गर्ने विषयलाई बागमती प्रदेशले उच्च प्राथमिकतामा राखेको बताउँदै जसरी पनि काम अगाडि बढाउने बताए । ‘राजनीतिक अवस्था जस्तासुकै भए पनि चुरिया माई सुरुङको पुनर्निर्माणको काम अगाडि बढ्छ । सुरुङमार्ग मर्मत गर्न आवश्यकताअनुसार बजेट थप गर्न पनि प्रदेश सरकार तयार छ,’ उनले भने ।
हेटौंडाको चुरिया माई मन्दिर नजिकैबाट चुरिया माई सुरुङको सुरुवात भएको देखिन्छ । सुरुङमार्ग निर्माण गर्दा चरिया माई मन्दिरको स्थापना गरिएको जानकारहरू बताउँछन् । चुरिया माई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर भोम्जन सुरुङ खन्न अनेक समस्याहरू देखिएपछि सेनाले मन्दिरको स्थापना गरेर सुरुङ खनेको बताउँछन् । बागमती प्रदेश र प्रदेश नम्बर २ को दक्षिणी सिमानामा चुरिया माई मन्दिर अवस्थित छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया