बागमती

३ महिनापछि बागमती प्रदेश सभा बैठक बस्दै

सरिता दाहाल |
फागुन २७, २०७८ शुक्रबार १६:१४ बजे

मकवानपुर - लगातार ३ महिनादेखि स्थागित हुँदै आएको बागमती प्रदेशको बैठक २९ फागुनमा बस्दैछ । प्रदेश सभा बैठक नभएपछि ऐन निर्माण, संशोधन हुन सकेको छैन भने सर्वसाधारणका समस्यामाथि छलफल हुन सकेको छैन ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण ३ पटक संसद अवरुद्ध भएको थियो । त्यसपछि संसद चलाउने आँट नै गर्न नसकेको दाबी गरिएको छ । गत ८ पुस, ४ फागुन र १६ फागुनमा बोलाईएको संसद बैठक पनि बस्न सकेको थिएन ।

कहिले प्रतिपक्षको बिरोध त कहिले विशेष कारण भन्दै बैठकको लागि मिति सारिदै आएको छ । अब २९ फागुनको लागि तोकिएको बैठक भने स्थगित नहुने प्रदेश सभाले जनाएको छ ।

यद्यपि २९ फागुनमा पनि तर बैठक सञ्चालन हुने वातावरण भने बनिसकेको छैन् । नेकपा एमालेले आफ्नो माग पूरा भएमात्र बैठक सञ्चालन हुन दिने बताएको छ । पूर्व मुख्यमन्त्री तथा एमालेका नेता डोरमणि पौडेलले मुख्यमन्त्री राजेन्द्र पाण्डेले एमालेले उठाएका मागको चित्तबुझ्दो जवाफ दिएमात्र संसद चल्ने बताए ।

यसैगरी एमालेले रकमान्तर, मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्नुपर्ने, आफ्नो नेतृत्वको सरकारले ल्याएको योजना कटौती फिर्ता गर्नुपर्ने कारण र नेकपा (एकीकृत समाजवादी) को कमिटी गठन भएको स्थानमा मात्रै बजेट दिने भनेर मुख्यमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर माफी माग्नुपर्नेलगायत माग राख्दै सदन अवरुद्ध गरिरहेको छ ।

आन्तरिक कानून तथा मामिला मन्त्री तथा सरकारका प्रवक्ता कृष्ण खनालले एमालेको अवरोधका कारण पटक पटक बैठक स्थगित गर्नु परेको बताए । सभामुखले संसद स्थगित गर्दा पनि आफूहरू उक्त कारण बारे अनबिज्ञ रहेको प्रवक्ता खनालले बताए। अब पनि २९ फागुनको लागि बैठक सञ्चालन हुने सहमति भएको मन्त्री खनालले बताए । खनालका अनुसार यसपटक पनि एमालेले अवरोध गरे हिउँदे अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार रहेको उनले छ।

प्रदेशसभालाई अनिर्णयको बन्दी बनाउने काम भएमा सरकार कानूनी रुपमा अर्को विकल्पबाट भए पनि काम गर्ने उनको भनाइ छ । यसअघि नै भएको सर्वदलिय बैठकमा प्रदेशसभा बैठक सञ्चालनको सहमति जुटेका कारण अझैपनि सुचारु हुनेमा सरकार विश्वस्त रहेको मन्त्री खनालले बताए।



Author

थप समाचार
x