पौने २ करोडको रंगशाला उद्घाटन्, आजबाट खेल सुरु
मकवानपुर - हेटौंडा उपमहानगरपालिका-५ को क्याम्पाडाँडामा निर्माण गरिएको पिप्ले क्याम्पा रंगशालाको उद्घाटन गरिएको छ । आजबाट यही रंगशालामा पहिलो बागमती प्रदेश खेलकुद प्रतियोगिता हुँदैछ ।
पिप्ले युवा क्लबको अगुवाई, ५ नम्बर वडा कार्यालय, हेटौंडा उपमहानगरपालिका र जनसमुदायको सहयोगमा पौने दुई करोड लागतमा रंगशालाको निर्माण गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।
निर्माण सुरु गरिएको एक वर्षमै रंगशालाको उद्घाटन गरिएको हो । रगंशालाको उद्घाटन गर्दै मेयर महतले विकास निर्माण र खेलकुदको क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाले प्राथमिकताका साथ काम गरेको बताए । सबै जनप्रतिनिधिहरुको साथ र सहयोगबाट उपमहानगरपालिकाले कामका उपलब्धी हासिल गरेको महतले बताए । करिब ५ बिगाह क्षेत्रफलमा निर्माण भएको रंगशाला आकर्षक छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न र खेलाडीलाई दैनिक प्रशिक्षणका लागि व्यवस्थित स्थानको रुपमा पिप्ले रंगशाला निर्माण गरिएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिए । रंगशालामा करिब १० हजार दर्शक अटाउने बताइएको छ । निर्माण सकिन अझै एक महिना लाग्ने छ अध्यक्ष घिमिरेले भने ‘पूर्णरूपमा निर्माण सकिएपछि लागत खर्च सार्वजनिक गर्ने योजना छ ।’
रंगशाला निर्माणमा हेटौंडा उपमहानगरपालिकाको १ करोड ९ लाख रुपैयाँ, ५ नम्बर वडा कार्यालयको ३० लाख बजेट विनियोजन गरेको थियो । यस्तै, जनसमुदायबाट ३० लाख रुपैयाँ संकलन गरीएको घिमिरेले बताए ।
अध्यक्ष घिमिरेले बागमती प्रदेशको राजधानीको रूपमा रहेको हेटौंडामा खेलकुदको लागि एउटा रंगशाला आवश्यक खड्किदै आएको र यो रंगशालाले खेल क्षेत्रको विकासमा योगदान गर्ने बताए ।
मकवानपुर फुटबल तथा अन्य खेलका खेलाडी उत्पादनको हिसाबले राम्रो स्थानमा रहेको भएपनि रंगशालाको अभावमा यहाँ संचालन हुने फुटबललगायतका खेलका प्रतियोगिताहरु अस्थायी प्यारफिट तथा खुला मैदानमा संचालन गर्नु पर्ने बाध्यता रहँदै आएको थियो । रंगशालामा फुटबलसहित एथ्लेटिक्सको ट्रयाक समेत निर्माण गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया